मेरो माल कार्यालय सरूवा भएको केही दिन भएको थियो । मैले अचम्म मानेँ ।

एकदिन मेरा फुपाजुले मेरा बुबालाई भन्दैगरेको सुनेँ – केटो कति हुलाकमा बस्छ, अलिकति गरिखाओस् भनेर माल कार्यालयमा सरूवा गर्न मितज्यूलाई भनेको थिएँ । सरूवा भएको छ । अलि सम्झाउनु त्यसलाई अलि अब्डेरो छ ।

म  कार्यालय जाँदै थिएँ । माल कार्यालय परिसरमा नै बसेका केही मान्छे कुरा गर्दै थिए । मैले झट्ट सुनेँ – खडुस हाकिम आएको छ । काम गराउनै गाह्रो हुने भो अब ।
अर्को दिन कार्यालय जाँदा कार्यालयकै गेटकै अगाडि एक हुल मान्छेहरुका बीचमा एक जना एकदम सुकिलो लुगा लगाएको मान्छे भाषण गर्दै थियो – माल कार्यालयमा भ्रष्टाचार बढ्यो । पैसा नदिई त कोही कर्मचारी काम गर्दैनन् । नालायक भयो सरकार ।

खेमराज पोखरेल

केही दिन बित्यो । एक दिन कार्यालयमा काम गरिरहेका बखत उही भाषण गर्ने मान्छे देखापर्यो र मलाई भन्यो – हाकिम सा’ब, हजुर समक्ष मेरो क्लाइन्टको एउटा फायल अड्केको छ ।

मैले सो फाइल हेरेँ र भनेँ – अहो, यो फाइलमा त सार्वजनिक जग्गा नै हडप्न खोजेको देख्छु त । यो त मिल्दैन ।
उसले हतार हतार भन्यो – हो, तर मैले सबैतिर मिलाएको छु । हजुरले धन्दा मान्नु पर्दैन । यो काम गरिदिनै पर्यो ।
मैले आफूले गर्न नसक्ने बताएपछि उसले एउटा खाम टेबुलको छेउबाट मतिर छिरायो । अनि उसको र मेरो भनाभन नै भयो ।

बाहिर निस्किएर ऊ फेरि जुलुसमा नै पुग्यो र नारा लाउन थाल्यो – भ्रष्ट कर्मचारी तन्त्र मूर्दावाद ।