“ए छोरा, आज त मलाई अलिक बिसन्चो छ । जा न है आज गाईलाई एक डोको घाँस काटिदे ।”

“काट्दिनँ है म त घाँससाँस, नोकर होइन म ।”

“तेसो नभन्न नानीबाबु, मलाई साह्रै बिसन्चो भएर पो भनेको त !”

“ल, काटिदिन्छु । तर एउटा सर्तमा मात्र !”

“लु, भन के छ सर्त तेरो ?”

“मलाई एउटा स्मार्ट फोन किनिदिने हो भने !”

सबिता शर्मा (पश्चिम सिक्किम)

“लौ न त किनी दिउँला, गाई भोकाएका छन् घाँस छिट्टो काटेर ले ।”

डोको, नाम्लो र कँचिया बोकेर घाँस काट्न बाटो लाग्यो । एक घण्टाभित्र घाँसको भारी गोठको छेउमा लडायो । कोठामा पस्यो र एकछिनमा चटक्क परेर बाहिर निस्कियो।

“लु बाबा, जौ फोन किन्न ।”

बाबाको अनुहारमा प्रश्नचिन्ह उठ्यो । मनमनै भन्यो,  अहिलेको अहिले नै ? कसरी ? कहाँबाट ?

“हैन, छोरा अहिले त मेरो हातमा पैसा पनि छैन, अलिक दिन पर्खिन ल नानी !”

“अघि चैँ किन फोन किनिदिन्छु, घाँस काटिदे भनेको त ?”

“किनी त दिने हो नि, तर अलिक दिन पर्खी न । मेरामा एक पैसा छैन । फोन भन्ने कुरा दोकानेले बाँकीमा दिँदैन, पैसा न कौडी ! मलाई अलिक सन्चो होस्, तब यता उतिबाट पैसा बन्दोबस्त गरेर किनिदिउँला ।”

“हुन्न बाबा, फोन त मलाई आजै जसरी भए पनि चाहिन्छ । किनिदिनै पर्छ। नभए त्यो घाँस जहाँबाट ल्याएँ त्यही लगेर पोखिदिन्छु ।”, भन्दै रिसले घरका समान यता उति झटारो हान्न थाल्यो छोरो । छोरोको मूर्खतामा बाबा अन्योलमा परे । न आँसु झर्छ न भक्कानो फुटाउन सक्छन् ।

छोरोलाई अत्तो-पत्तो छैन, उसलाई उसका बाले घाँस काट्न किन अह्राए !

बाले बिरामी छु भन्दा पनि धर पाएनन् । भारी जिउले उठेर तयार भएर छोरोलाई साथमा लिएर साहुकारको तिर लागे ।साहुकारकोबाट ब्याजमा पैसा लिएर बजारतर्फ लागे ।

फोन किनियो । छोरा खुसी भयो, तर बा भने मनमनै धेरै दुःखी । उनलाई एउटै चिन्ताले सताउन थाल्यो । अब यो साहुकारको बाँकी कसरी तिर्ने ? ब्याजले मार्ने भो । ‘कसरी पैसा कमाउने ? कुन तरिकाले कमाउने ?’ इत्यादि इत्यादि ।

तर यसको जिम्मेवार को ? जमाना कि अनुशासन ? मेरा लागि त दुवै दोषी हुन्, किनकि आजकलका आमा-बाबाहरु सम्झाउन बुझाउनु डराउँछन् । कतै हुँदैन भन्दा मेरो छोरा अथवा छोरीले अनर्थ काम पो गर्छन् कि भनेर त्रसित छन् ।

छोराछोरीलाई केही हदसम्म छुट दिन आवश्यक छ । तर, नानीहरूलाई आफ्नो घरको आर्थिक स्थितिको जानकारी गराउन पनि अति नै आवश्यक छ । ता कि उनीहरूले आफ्ना आमा बाबाको समस्या नै बुझ्न सकुन् ।