१. पहिलो लघुकथा
(दोस्रो संस्करणमा आएको पहिलो लघुकथा सङ्ग्रह)
रातो चामल
डा. विदुर चालिले

डा. विदुर चालिसे
एकदिन अल्लाह र ईशु सल्लाह गरेछन् । “जम्ला” भन्ने देश कहाँ होला ? दुवै घुम्दै हिँड्दा अल्लाह उजाड पठारमा ऊँट चलाउन थालेछन्, शिकारी विद्या सिक्न लागेछन् । ईशु भन्ने त्यहाँबाट हिँडेछन् ।
– “गरिबहरूको दिन कहिले आउँछ ?”
वेदान्त पढिरहेका शिष्यहरू गरिबहरूको दिनको खोजी गरिरहेका थिए । गरिबहरू सुनसान बगरमा थिए । उनीहरूको हालत रातो रातो भएर रगतसँग पसिनाहरू भत्कन्थ्यो । ईशु रेस्टुरेन्टमा टहलिरहेका थिए ।
– “हजुर अर्डर ?”
ईशु खासै बोलेनन्, मेनु हेरेर टोलाइरहे । मौनतापछि वेटरले ईशुलाई पुन: प्रश्न गर्यो ।
– “हजुर अर्डर के लिने ?”
आफैँसँग आएका आफन्तलाई ईशुले इच्छा भोजन गराउने विचार गरेर सोधे ।
-“यहाँको स्पेसल के छ ?”
वेटरले आफ्नो रेस्टुराँ व्यवसायको सफलताबारे निकै गर्वसाथ ईशुलाई सुनाएर प्रशंसा गर्यो । अनि उसले ईशुलाई सुनायो ।
-“हजुर रातो चामलको स्पेशल खाना ।”
ईशुलाई अचम्म लागेछ । उनले सधैँ सेतो चामलको मात्र खाना खाएथे ।
-“अरे ! रातो चामल !”
– “हजुर, स्पेसल खाना बन्छ यसको ।”
ईशु रातो रङदेखि डराउँथे । उनलाई यो रङ मन पर्दैनथ्यो । उनले अगाडि बढेको वेटरलाई बोलाए अनि भने ।
– “सुन्नु त भाइ, यो गरिबले खाने चामल हो ?”
वेइटरलाई थाहा थियो, थिएन । खै ! कसरी भन्ने र ? तर उसले सुनेको थियो । रातो चामल गरिबहरूको खेतमा फल्दथ्यो । अनि उसले सहज उत्तर दियो ।
– “यो चामल गरिबले खानेचाहिँ होइन । उत्पादन चाहिँ गरिबको खेतमा हुन्छ ।”
यस्तो अचम्म सुनेपछि ईशुलाई लाग्यो । यो विषय गरिबहरूको उद्दारको एउटा सूत्र बन्छ भन्ने विचार गरेर रातो चामलको “पेटेन्ट राइट” दर्ता गराए । अचेलका हरेक रेस्टुरेन्टमा प्रसादका रूपमा पेटेन्ट राइट पाएको गरिबहरूको खेतमा फल्ने रातो चामल फल्ने ज्यूनार गर्न धनाढ्यहरूको घुइँचो छ । उहिलेका भुरेटाकुरे राजाहरूले गरिबहरूलाई तृप्त गराउन त्यही रातो चामलको भात खाए । अचेल उनी रातो चामलको खाना त्यति मन पराउँदैनन् ।
– “गरिबका खाना, वनारस जाना । धनीका खाना, रातो चामल से मेजमाना ।”
रेस्टुरेन्टको भित्तामा ठूलो अक्षरले स्लोगन लेखेर राखिएको थियो । सबैको घुँइचो त्यतैतिर लागिरहेथ्यो । ईशुलाई चिकित्सकले सेतो चामल खाए सुगर रोग बढ्ने प्रेस्कृप्सन दिएका थिए ।
##
(डा. विदुर गौतमको “रातो चामल” लघुकथासङ्ग्रह पहिलो पटक दोस्रो संस्करणमा आएको कृति हो । यो कृतिमा ७४ वटा लघुकथाहरू प्रकाशित छन् । कृतिलाई भुँडीपुराण प्रकाशनले २०७६ सालमा पहिलो पटक प्रकाशनमा ल्याएको थियो ।
डा. विदुर चालिसे लघुकथाको व्याख्या र लेखन दुवै सँगसँगै गर्न सक्ने क्षमताको व्यक्ति हुन् । बौद्धिक र सङ्ख्यात्मक लघुकथा लेख्ने लघुकथाकारको रूपमा पनि डा. चालिसेको नाम अगाडि आउँछ । हालै उनी लघुकथा समाज, नेपालको बाग्मती प्रदेशको अध्यक्षमा पनि चुनिएका छन् ।
प्रस्तुत “रातो चामल” लघुकथा सरल भाषामा लेखिएको बौद्धिक लघुकथा हो । यस लघुकथामा पसिनाको गन्ध, सामाजिक विभेद अवस्था र सुषुप्त राजनीतिक व्यङ्गको झटारो पनि पाइन्छ ।)
२. सक्रियकालीन लघुकथा
कपी आतङ्क
धनराज गिरि
—कोरोना युगभन्दा अघिको कथा हो यो । सुन्दर, शान्त र विशाल भनेर नाम प्रचार भएको एउटा गाउँमा “३००” वर्षसम्म खास केही हुन नसकेको कुरा ‘बीबीसी’ले फुक्यो र यसबारे रिसर्च गर्न सिड्नीबाट पिटर बर्नाड भन्ने एक औजी विद्यार्थी आयो –उसलाई यही गाउँको आप्रवासी युवाले साथ दियो । पिटर यहाँको भाषा सिकेर आएको हुनाले उसलाई “दो भाषे “को आवश्यकता परेन । उसले सजिलो उपाय सोच्यो, केही बूढा गुरुहरू खोज्यो, “मलाई यहाँको यस्तो हालत हुनमा को-को दोषी हो, सत्यतथ्य जानकारी दिनू है बा !” ऊ नम्र भएर प्रस्तुत भयो ।
“बाबू पिटर, पहिले बाली र सुग्रीवहरू यहाँका शासक —ठूला बानर —हाम्रो बाली उनीहरूले लुटे । १०४ वर्ष यी काला कपीहरूको मनमौजी, उनीहरूको हुक्के भयौँ हामी –दास –सदा उदास । ती काला गए । केही वर्ष पहेँला बाँदर आए, भिजिलान्ते बने —फेरि उही —उही पारा —-कपीको नै सन्तान ।”
“परिवर्तन भयो भन्ने पढेको थिएँ, बट नो चेन्ज ?” अङ्ग्रेजी पनि मिसाउने पिटरले भने ।
“नो पिटर, नो ….” बूढा पनि अङ्ग्रेजीबाज़ —दत्त बाजे ।
“व्हाट ह्यापेन देन ?”
“नीला कपी आए —-३६ र ७४ बिघाहा खेतको मालिक बने, भ्रष्टाचार खुल्ला —हाम्रो बाली लुटियो !”
“नो अब्जेक्सन अरूले ?”
“विपक्षी थिए —लाल –लाल —पहिले लाल —पछि दलाल …..राता कपी, झन् खतरनाक ……..फेरि लुटे …..१७ चिरामा फुटे ….फेरि जुटे ………उफ् ………..पिटर …..सो ब्याड ………अल आर …….उही हो पिटर …..बुस फायर —-भ्रष्टाचार ……..नातावाद –कृपावाद ………कपी आतङ्क ….,”
पिटर शोध पूरा नगरी आत्तिएर फर्कियो !!
##
(नेपाली लघुकथामा ५० को दशकपछि सक्रियकालीन समयको उदय भएको मानिन्छ । यही समयदेखि धनराज गिरि पनि नेपाली लघुकथामा सक्रिय छन् ।
धनराज गिरी मूलत: गजलकार हुन् । तसर्थ पनि उनका लघुकथाहरूमा प्रयोग गरिने शब्दहरूको अन्तानुप्रासयुक्त शब्दहरू ठाउँ ठाउँमा प्रयोग देखिन्छ । गिरि मनमौजी स्रष्टा भएकाले भाषा र विषयको मनमौजी प्रयोग नै धनराज गिरिको विशेषता हो । यही विशेषताले गर्दा धनराज गिरि कसैको प्रिय त कसैको अप्रिय पनि बनेका छन् ।
प्रस्तुत “कपी आतङ्क” लघुकथाले मनमौजी धार बोकेको छ । कथाले तराई परिवेशको चित्रण गर्दै देशको राजनीतिक इतिहास थाहा नपाउँदो गरी उनेको छ ।)
३. मलाई मन परेको लघुकथा
यात्राहरू
अवतार ढकाल

अवतार ढकाल
गतवर्ष पनि पहाडको फेदीबाट ठ्याक्कै यसैगरी उकालो लागेको थियो गाडी । श्रीमान् श्रीमती यसैगरी बसेका थिए एउटै सिटमा ।
`आहा! हेर्नू न ! पहाड सुरु हुनेबित्तिकै कति मीठो हावा चलेको । शरीरमा छुट्टै आनन्द आउन थाल्यो । ऊ हेर्नु त त्यहाँ, रातै लालीगुराँस । आहा! कस्तो हरियाली पहाड जता पनि हरियालीमात्र । त्यो पारिको चट्टाने भिर पनि कति सुन्दर ! नेसनल जोग्राफीमा देखाउनेजस्तो । अहो ! सेतो हिमाल । तपाईँ यी सबै खिच्नु है मोबाइलमा । म त आँखाभरि हेर्छु ।´
बहुत उत्तेजित हुँदै हरेक कुराको वर्णन गरेकी थिइन् श्रीमतीले ।
यसवर्ष पनि उही नभए पनि उस्तै थियो सबै कुरा । गतवर्षको भन्दा अझ आरामदायी गाडी । झन् सुन्दर पहाड र टाढा देखिने अझ सुन्दर हिम शृङ्खलाहरू ।
गाडी पहाड उक्लन सुरु गर्नेबित्तिकै श्रीमतीले भन्न सुरु गरिन्:
` पहाड लाग्नेबित्तिकै मलाई त रिङ्गटा लाग्न सुरु भयो । सधैँ यस्तै हुन्छ । ` उफ…. बाटो पनि कति घुमाउरो हो …. ! कति हल्लाउने हो गाडीले पनि ! टाउको दुखेर मर्न लागिसकेँ । मलाई त वमिट हुन्छ जस्तो छ । हेर्न राम्रो भएर मात्र के गर्नु … आदि ।´
` वमिट रोक्ने, टाउको दुखाइ कम गर्ने औषधि खान्छ्यौ त ?´ उसले काननिरै मुख लगेर साउतीको स्वरमा सोध्यो ।
उनले नाईँ सूचक टाउको मात्र हल्लाइन् । चुपचाप ।
उसको दिमागमा गत वर्षको यात्राभरको श्रीमतीको हौसला आउँदै जाँदै गरिरह्यो । साथै एउटा अव्यक्त पीडा पनि ।
गतवर्ष बिदा मनाउन उनीहरू अर्कै पहाडतिरको यात्रामा थिए र यो वर्ष उसको पहाड घर ।
##
(अवतार ढकाल कुशल लघुकथाकार हुन् । गजल र मुक्तकमा पनि अवतारको मनग्य रुचि भएकाले उनका लघुकथाहरू शब्दको हिसाबले सटिक र भावको हिसाबले चोटिला छन् । उनीका हरेक लघुकथाहरूले चट्ट परिवेश र सन्देश बोकेको हुन्छ । कथानक दरिलो बनाउन सिपालु अवतार ढकालका लघुकथाहरूले पाठकलाई सँगसँगै हिँडाउने गरेका छन् ।
प्रस्तुत “यात्राहरू” लघुकथाले नियात्राको छनक दिँदै अन्त्यमा बूढाको गाउँप्रति गरेको बेवास्थाको सही चित्रण गरिएको छ । कथामा पाठक पनि सँगसँगै हिँडेका छन् । यही नै यो लघुकथाको सुन्दर पक्ष हो ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

