ए आरती, आरती……..,ए नानी……।
मलाई सपनामै आमाले बोलाएजस्तो लाग्यो । राति  निस्पट्ट अन्धकार थियो। टुकी बालेर आमाको छेउमा गएँ ।
आमा खुनमा लतपतिएको देखेर एकचोटि कहाल्लिएँ । मलाई असाध्यै डर लाग्यो । कसैले धारिलो हतियारले हानेछन् ! पक्कै, यी बाउ भनौदाले जस्तै लाग्यो । हिजोमात्रै छोरो जन्माउन नसक्ने नामर्दी भनेर आमालाई दाउराको चिर्पटले हानेर गएका घर फर्केका छैनन् । हेरेँ, मेरा दुइटी बैनीहरू मस्त निन्द्रामा छन् । चिच्याउँदै बाहिर निस्केंँ। पल्लो घरको अगाडि गई रुँदै बोलाउन थालेंँ ।  जेठीआमा घरका जराक जुरुक्क उठेर सोध्न थाले।
मुखमा भन्न आयो ‘आमा खुनमा …………’ ।
ए,मोरीले त आजै पो …. भनिन् ,जेठीआमाले।
म डर र शङ्काले आतङ्कित भएँ । हातमा बोकेको टुकीको सहारामा जेठीआमा र म हाम्रो घरभित्र छिर्‍यौँ । त्यतिबेलासम्म बाउ घरमा फर्केका थिएनन् । मलाई जेठीआमाले आगोबाल्न भन्नुभयो । दुई जनाको कुराकानीबाट थाहा लाग्यो आमाले अर्को बच्चा पाउन लागेको रहेछन् भनेर । छेउमा गएर सोधेंँ ‘आमा, भाइ पाउन लागेको हो ? ‘

इन्दिरा गौतम

अँ…….. ।
भाइ शब्द नै मलाई कति प्यारो छ । कसरी व्यक्त गर्न सक्थेँ र! भाइसँग खेल्ने रहर………। आमाको घाइते अवस्थाबाट उद्धारमा जुटेकी जेठीआमाको मुखमा भगवान्का श्लोकहरू सुनिन्थ्यो। तर मेरो मनमा एउटैमात्र चाहना थियो, सबै साथीहरूका भाइ  छन् । तर हाम्रो घरमा भने……
आमाको छटपटी, चिच्याइ र जेठीआमाको साहसी आवाजलाई उछिन्दै अर्को झन् तिखो रुन्चे स्वरले घरको छानै उचाल्यो । जेठीआमाले मलाई  तँसँग खेल्ने भाइ आयो है भन्दा एक्कासी म त खै के भएँ भएँ ।
त्यसबेला आमालाई युद्ध मैदानमा उभिएकी योद्धा जस्तै देखेँ जो भर्खर युद्ध जितेर मलाई भाइ र बाउलाई पिण्ड दिने छोरो उपहार दिई कलङ्कबाट मुक्त भएकी छिन् । अब त बाउ पनि घर फर्किन्छन् होला नि ? भाइको आगमनले हाम्रो घरभरि खुसीको उमङ्ग छायो।
************

 

असम, भारत ।