साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

लघुकथा: विरक्ति

Chovar Blues Mobile Size

लीलाबहादुर थापाका आँखा रसाएर आए जब उनले आफ्नो दिवंगत साथी प्रेमको स्मरण गरे— सर निकै जोसिला थिए उनी । हामी दुई जना सिन्धुलीबाट पोखरा आयौँ, रोजीरोटीको जोहोमा ।

आजभन्दा दस वर्षपूर्व पोखरा आएको दिन सम्झँदै थापा भन्छन्— “साथीलाई सैनिकमा भर्ना हुन रहर जागेछ । मेरो मनले मानेन । उनी भर्ना भए र काभ्रेतिर गस्तीमा पठाइए… ।”

पोखरा–बागलुङ सडकमा साठी किलोमिटरको गतिमा आफ्नो ट्याक्सी कुदाउँदै थापा बोल्दाबोल्दै एक्कासि रोकिए । लुम्लेतिरबाट आइरहेको ट्रकलाई बाटो दिन उनी ट्याक्सीलाई छेउमा लान खोज्दै थिए । बाटो काटिसकेपछि फेरि स्टेयरिङलाई व्यवस्थित गर्दै ट्याक्सीलाई आफ्नो स्वाभाविक क्षेत्र र गतिमा ल्याए ।

“फेरि के भो थापा ?”— म प्रश्न गर्दछु । मेरो प्रश्नले थापाको अनुहारमा गहिरो पीडा भाव उब्जायो— “के हुनु सर, उनी काभ्रेतिर जाँदै गर्दा एम्बुसमा परे…।” एक क्षण स्टेयरिङ हल्लियो । म डराएँ, थापाले कतै भावविह्वल भएर आफ्नो नियन्त्रण गुमाए भने… ! कल्पना नै गर्न नसकिने परिणामतिर अनाहक मन दौडाएँ । थापाले तत्काल आफूलाई नियन्त्रण गरे । रसाउन थालेका आँखालाई खुल्ला छाडेर स्टेयरिङमा हात मजबुत पारे र बाटो छोट्ट्याउन थाले ।

म एक क्षण घोत्लिएँ । पोखरामा ब्रिटिस, भारत, सिङ्गापुर सेनाको लागि भर्ना हुन दिनहुँ युवाहरू प्रशिक्षण लिइरहेका हुन्छन् । स्टेडियममा रातो, पहेँलो लुगामा सजिएका प्रशिक्षार्थीहरू ‘जवान’ बन्न लायकको कडा प्रशिक्षण सेनाप्रतिको आकर्षण नै मान्नुपर्दछ र सम्भवतः आफ्नो जिविकाको खोजीमा पोखरा आएका प्रेम आफ्नो साथीको अनिच्छाविपरीत सेनामा भर्ना भए भने त्यो यही स्वाभाविक आकर्षण नै थियो होला ।

त्यो जनयुद्धको बेला भएकाले पनि खतरा त थियो तर पनि ती गए र एम्बुसमा परे… ।

राम भरोस कापडि भ्रमर

त्यो घटनाको कठोर छाप लीलाबहादुरको मनमा परेछ । २६–२७ वर्षका अविवाहित युवा उनी सैनिक प्रहरीलाई देख्दै त्रसित र विरक्त हुन पुग्दछन् रे ! त्यही बर्दीले उसको आफ्नो साथीलाई अलग्याएको छ सम्झेर ।
म यात्राको क्रममा उसको मनमा जम्दै गएको विरक्तिलाई पटकपटक महसुस गर्दछु । पोखरा–वागलुङको ७२ किलोमिटरको बाटो बिनाकेही बोल्दै काट्नु आफैँमा सजाय थियो । तर पनि थापाको आन्तरिक पीडाले मर्माहत उसको अनुहार तथा ढुङ्गा र ढिस्कोले छेकिएर अवरुद्ध बग्दै सेतीको पानीजस्तै आँसु झार्दै आँखातिर हेर्ने मेरो हिम्मत भएन ।

 

प्रतिक्रिया
Loading...