अस्ति जेठमा मकै गोडेको पर्म तिर्नु थियो ।आज जोत्न बोलाउनु भएको थियो। जर्खरिएको साउने बांझो जोतेर आउनु भएका खानिगाउँका काका काकीसँग गफ गर्दै हुनुहुन्थ्यो ।
अनि नि ।
अँ।
आज नि आज।
अँ।
डंगिनी जेठीकामा नि डंगिनी जेठिकामा।
अँ।
आज चार बजेतिर तर पानी चुहिने चार डल्ला उसिनेको फर्सी खाजा दिएकी थिइन्। खेतको आलीमा बसेर खाजा खान लागेको बेलामा पल्लाघरको त्यो ठेउके पनि ठ्याक्कै पुगेको रहेछ। टुलुटुलु हेरिरह्यो।
एक डल्लो उसलाई दिएँ। तीन डल्ला मैले खाएँ । बिहान खाएको खानाले अहिलेसम्म टिकेको छु बूढी । भोकले आँखाभित्र पसिसके, मेरो उभिने ताकत पनि छैन । छिट्टो माम पकाऊ त म गोरुलाई घाँस हालेर आउँछु । बाटैमा घर भएकोले डुल्दै आउनुभएका नारद काकाले सुनेर गाउँभरि हल्ला गरिदिनु भएछ।
भोलिपल्ट बिहानै डंगिनी भाउजूको छोरो टंके हातमा ठूलो घारो बोकेर बाहिर निस्की छिटो । हलीलाई फर्सीको खाजा दिएको भनेर हाम्रो बदनाम गरिस् भन्दै कराउन थाल्यो । आँखा मिच्दै उठ्नुभएका काका अघि सर्नु भएन। काकी पाखुरा सुर्किंदै गएर “के रे दिनभरि हलो जोत्ने मान्छेलाई भोकभोकै काम लगाउँछौ। हाम्रोमा त मकै गोड्न आउँदा पनि तीन थाल भात नै दिएका थियौँ त। अझ तिमीहरूकै ठूला कुरा? ” भन्दै जंगिएपछि टंके घारो फालेर तीनमान्छे अग्ला बारीका कान्ला हामफाल्दै टाप कस्यो ।
जाऊ घर घुरकसिंगर गर्दै गर । म त्यो टंकेले छोडेर गएको घारो ल्याएर चिर्छु । आज यसैले खाना बनाउनु पर्छ। हिजोको खाजा यसैले असुल गर्नुपर्छ।
यौटा कुरा भनूँ बुढी ?
भन्नुस् न।
यसो खासखुस गरेको पनि मान्छेले सुन्दा रहेछन् । बाटैको छेउमा पनि घर बनाउन नहुने रहेछ है !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला