शिशिर ऋतुको झिसमिसे ओसिलो बिहान चौराहामा ऊ गुनगुनाउँदै उभिएकी थिई | बाहिर   ठिहि-याउने जाडो थियो | उसका मनभित्र ह्वारह्वारती जठराग्नि दन्किएकाले हुनुपर्छ — त्यो जाडामा पनि ऊ बेस्मारी गरमाएकी जस्ती थिई जतिखेर उससँग उखरमाउलो बैंस थियो |

सायद ऊ तृषित थिई र त्यो जाडामा पनि कलकलती पिइने पानीको घुड्काको चाहानाले ऊ  ठिहिर्‍याउने झिसमिसेमै कुरिबस्थी बर्सातलाई |

लक्ष्मण अर्याल

आकाश धुम्मिन्थ्यो | सघन वादलको प्रतापले बिहानीको उज्यालिने मुहारलाई खप्लक्क निल्थ्यो | केही छिनपश्चात् झरी पर्थ्यो | ऊ कहिले उत्साहित झैं देखिन्थी | कहिले हौसिन्थी, कहिले उफ्रिन्थी अनि कहिले उज्यालिन्थी पनि | ऊ झरीले निथ्रुक्क भिज्थी | शिशिरको चिसाले चिस्याउन नसकेका उसका आक्रामक अंगप्रत्यंगहरू चिसाम्य बन्थे | ऊ सेलाउँथी |
दिन बिते, रात बिते, वर्ष बिते, दशक बिते र बिते समयका अजस्र सीमाहरू | ऋतुचक्रले फन्को मारिरह्यो | उसको प्रेमी मन माघे झरीको जलकणस्पर्शले आप्लावित भइरह्यो निरन्तर |
सदाझैं यसपल्ट शिशिरको चिसो ठिहिर्‍याउने ओसिलो बिहान मानिसहरूले उसलाई चौराहामा बर्सात पर्खिएर गुनगुनाउँदै उभिएकी देखेनन् |
ऊ तृष्णा थिई र उमेरको वार्धक्यसँगै काटिएको नानीझारझैं मुर्झाएकी थिई |