साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

  लघुकथाः किरिया

सर्जन र बिजन साख्खै दुईभाइ थिए ।बाउअामाकाे मृत्यु पछि छुट्टिभिन्न भए ।सर्जन केही पढेलेखेका थिए तर बिजन भने सामान्य साक्षर मात्र ।सर्जन गाउँकाे स्कुलमा पढाउने मास्टर भएकाले उनकाे फुर्तीफार्ती बेल्लै थियाे ।बिजन, बाउले  दिएकाे सम्पतिलाई बढाउन सकेका थिएनन्, उनले पुरानै घरमा गुजारा चलाएका थिए ।

सर्जनका लगातार तीन भाइ छाेरा जन्मे ।छाेरीकाे आश गर्दा तीन भाइ छाेरा भएकाले स्थायी बन्ध्याकरण गरेका थिए ।उनले पुर्ख्याैली सम्पत्तिबाट आएकाे पुरानाे घरलाई भत्काएर नयाँ र आधुनिक बनाएका थिए ।उनकी श्रीमती अलि आडम्बरी स्वभावकी र छुचाे मुखकी थिइन् ।गाउँसमाजमा आफु नै धनी र सर्वेसर्वा छुँ भन्ने धाक समेत् लगाउँथिन् ।त्यसैले सर्जन सज्जन हुँदाहुँदै पनि श्रीमतीकाे कारणले गाउँलेहरु उनकाे परिवारलाई उति साराे रुचाउन्न थे  ।

बिजनकी श्रीमती सारै हँसिली,फरासिली र सहयाेगी थिइन् । गरिब भएपनि उनकाे परिवारलाई सबैले मनपराउँथे गाउँसमाजमा ।उनीहरुकाे सन्तानकाे नाममा एकमात्र छाेरी थिइन् ।छाेरी पनि आमा जस्तै सुन्दर र हँसिली थिइन् ।

सर्जन र बिजन खुब मिलेका दाजुभाइ थिए ।सुखदु:खमा एकले अर्काेलाई सघाउँथे ।सर्जनकी श्रीमतीले भने भाइलाई सहयाेग गरेकाे देख्न खाेज्दैन थिन् ।बिजनकी श्रीमती भने खासै बाेल्दैनथिन् दुई भाइकाे संबन्धमा ।

एकदिन दुबैभाइका श्रीमती बिचमा भनाभन भयाे ।”के धाक लगाउँछेस तँ मरेपछि किरिया गर्ने छाेराे सम्म त छैन ।सम्पती त तेराे के पाे छ र! अरुकाे दैलाे नढुकी चुलाेसम्म बल्दैन ।” ठुली आमाकाे त्यस्ताे कटुबचन सुनेकी बिजनकी बालिका छाेरीकाे दीलमा काँडाे बनेर बस्न पुगेछ ।

समय दाैडन के बेर लाग्दाे रहेछ र! सर्जन र बिजन बुढा भए ,उनका छाेराछाेरीका काँधमा पारिवारिक जिम्मेवारीकाे भारी अायाे । ब्लड प्रेसरकाे कारणले एकदिन अचानक बिजनकी श्रीमतीकाे निधन भयाे ।उपस्थित मलामीहरु  कसबाट किरिया गराउने भन्ने विषयमा छलफल गर्दैगर्दा बिजनकी छाेरीले आफ्नी आमाकाे किरिया आँफै गर्ने कुरा सुनाइन् । अरु कसैलाई आमाकाे किरिया गर्न नदिने कुरा पनि सुनाइन् ।उपस्थित बुढापाकाहरु आजसम्म कसैले नगरेकाे काममा सरिक हुँदैनाैं भनी मलाम गएनन् भने युवापुस्ताले छाेरीकाे साथ दिए ।सामाजिक र धार्मिक विधि अनुसार आमाकाे किरिया गरिन्, बिजनकी एक्ली छाेरीले ।बुढाेपुस्ताकाे लागि अन्यथा भएपनि नयाँपुस्ताकाेलागि भने प्रगतिशील कदम ठहरियाे त्यस समाजकाेलागि ।

 

सुनिलस्मृति गा पा १ घाेडागाउँ,राेल्पा

प्रतिक्रिया
Loading...