‘अब किसानका दिन आए, कोही पनि किसानले समस्या पर्यो भनेर टाउकोमा हात लगाउनु पर्ने दिन गए । अब देशमा कृषिक्रान्ति हुनेछ, यो देश किसानले चलाउने छन् ।’
परर्र तालीको गडगडाहट भयो । एक हप्ताअगाडि कृषि मन्त्री भएपछि धनराज आफ्नो क्षेत्रमा आएर लामै भाषण गरे । गाउँका किसानको ओठमा हाँसो देखियो ।
‘अब हजूरबाट केही आश पलाएको छ, पहिलाका जस्ता खन्चुवा नहुनु नानी ! मेरो आशीर्वाद छ,’ चोलाकान्त बाजेले धनराजलाई शुभकामना दिए । दिनहरू महिनाहरू कसैको वास्ता नगरी बिते । किसानका पीडा बीसमा उन्नाइस भएनन् । मन्त्री पटक-पटक निर्वाचन क्षेत्र आउने कुरा पनि भएन ।
‘ऊफ ! यसपालि पनि पाँच बिघा जग्गामा लगाएको उखु त्यसै खेर जाने भो कान्छा ?’ लामो सुस्केराका साथ चोलाकान्तका जेठा छोराले भाइलाई भने ।
‘हो दाइ, यो साल सबैतिर प्रशस्त मात्रामा उखु खेती भएको छ रे, त्यसैले हो कि ?’ कान्छाले संशय प्रकट गर्यो ।
‘अब यो बाली नासेर तरकारी बाली लगाउने पो सोच राखेँ त मैले !’ जेठाले राय मागे कान्छासँग ।
‘तरकारीले भाउ पाउला त दाइ ?’ कान्छाले प्रतिप्रश्न गर्यो।
‘चिया पिउनु पर्छ कि नाति ?’ चोलाकान्तले शहरमा पढनका लागि डेरामा बसेको नाति भेट्न गएका बेला आग्रह गरे ।
‘हामी त तातो पानी मात्र खान्छौँ हजुरबुवा, चिनी चार सय रुपैयाँ केजी पुगेको छ महँगिएर,’ नातिले गुनासो पोख्यो । यस पटक उखुको आभावका कारण चिनीको भाउ आकासिएको भन्ने जानकारी कृषिमन्त्रीले टिभीमा दिएको अन्तरवार्ताबाट चोलाकान्तले थाहा पाए ।
‘स्याउको भाउ कसरी ?’ चोलाकान्तका माइला छोराले स्याउ किन्न खोजे । हिमाली भेगमा बसेका माइलाले बाबुलाई भेट्न कोसेलीका साथ भतिजकै कोठामा आउँदै थिए । पसलेले चार सय रुपैयाँ प्रति केजी भनेको सुन्दा माइला झस्किए। आफ्नो बारीमा ऊब्जिएको स्याउ तीस रुपैयाँ केजीमा नबिकेर लोकल रक्सी बनाएको सम्झे उनले ।
‘एक छाक राम्रो तरकारी किनेर खान नसकिने पो भइयो माइला !’ बाबु छोराको लामो कुरा भयो ।
‘खै कृषिप्रधान देश भन्छन् के हो के हो ?’ माइलाले बालाई सम्झाउन सकेन ।
‘देशका विभिन्न जिल्लामा उब्जिएको तरकारीले भाउ नपाएर किसानद्वारा तरकारी नष्ट गरिँदै,’ आजको मुख्य समाचार तीन भाइ र बाबु आफ्नै घरमा बसेर टिभीमा हेरिरहेका थिए ।
‘यस पटक पनि करोडौँको तरकारी विदेशबाट आयात,’ दोस्रो समाचार पनि सुन्न पाए उनीहरुले ।
‘धनराजले कृषिक्रान्ति गर्छु भन्थ्यो यही त होला है केटा हो !’ छोराहरुतिर फर्केर चोलाकान्तले भने । छोराहरुको ध्यान टिभीमै थियो ।
धनराजको छोराले पनि भारतीय राजदूतावासबाट प्रदान गरिने छात्रवृतिबाट विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने मौका पाएकाले गाउँमा लड्डु बाँडिएको रहेछ । धनराजले गरेको कृषिक्रान्ति गाउँलेले चाल पाउन सकेनन् ।
सुनसरी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।