श्रीमतीले जति कर गर्दा पनि कृष्णकान्तले उनको कुरा मानेको थिएन । आफ्नै जिद्दीमा भारततिर कामका लागि गएको थियो । त्यहाँ पुगेपछि उसले श्रीमतीलाई आफूले स्याउ टिप्ने काम पाएको भनेर खबर गरेको थियो । त्यस यता कुनै सम्पर्क थिएन ।
कोरोना शुरु भएसँगै राधा र उनका छोराछोरी चुपचाप–चुपचाप घरमा बसिरहेका हुन्थे । एक दिन कृष्णकान्तको साथीले उसको कोरोना लागेर मृत्यु भएको, लास नेपाल ल्याउन नदिएपछि त्यहीँ दाहसंस्कार गरिएको बतायो ।
यो खबरसँगै राधा बेहोस भइन् । एकछिनमा उनको होस आयो । होस आएसँगै उनी रुनकराउन थालिन् ।
“आमा ! के भयो हजुरलाई ?” बाह्र वर्षको ठूलो छोराले भन्यो ।
“तिम्रो बुवा कोरोनाले गर्दा उतै बित्नुभयो । अब म कहाँ जाउँ अनि के गरुँ ?” उनी झन रुन थालिन् ।
“नरुनुहोस् आमा ! बुवा बितेपनि हामी छौं, तपाईँका हामी छौं । तपाईँलाई हामी हेरौँला ।” ठुलो छोराले आमाको आँसु पुच्दै भन्यो । ससाना केटाकेटी सुँक्कसुँक्क गर्न थाले । उनले आफ्ना छोराछोरीलाई अँगालोमा टाँस्दै भनिन्, “म तिमीहरूलाई टुहुरो हुन दिने छैन ।”
उनमा जीवनप्रतिको आशा बाँकी नै थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

