“बाबु, के बन्छौ, पढेर?” बाबाले सोध्नु हुन्थ्यो।
म सानो थिएँ । करिब चार वर्षको । बाबाले डाक्टर, इन्जिनियर, पाइलट, वकिल भन्ने शब्दहरु बर्बराउनु हुन्थ्यो मैले सुन्ने गरी । मैले डाक्टर भन्न थाले । सोधिराख्नु हुन्थ्यो । मैले एक वर्षसम्म डाक्टर भनिरहेँ । पछि स्कुल जान थालेपछि बाटोमा ठूल्ठूला भवनहरु देख्दा बाबालाई सोध्थेँ, “कत्रो अग्लो घर है बाबा, कसले बनाउँछ यस्ता ठूला घरहरु?”
“इन्जिनियरले,” बाबाले मतिर हेर्दै भन्नुहुन्थ्यो। ती ठूला भावि भवन ठडिसकेको थियो सायद बाबाको मनमा, दिमागमा। अब डाक्टरबाट इन्जिनियरतिर मेरो ट्रान्सफर हुने पक्का भइसकेको थियो। म अब इन्जिनियर बन्छु भन्न थालेँ, कसैले के बन्छौ सोध्दाखेरी। धेरै मान्छे भएको ठाउँमा बाबाले ठूलो स्वरमा भन्न लगाउनु हुन्थ्यो । अनि सबैले मतिर हेर्दा मख्ख पर्दै गर्विलो छाती फुलाउनु हुन्थ्यो। झन् यतिबेला कापीमा बाटोको घरहरु जस्तै कापीमा कोर्न थालिसकेको थिएँ। बगैंचा, त्यसमाथि दुइटा कार देख्दा बाबाको सपनारुपी बगैंचा गमक्क फुलेको देख्थेँ। कक्षा बढ्दै गए, पढ्दै गएँ। राम्रो थिएँ पढाईमा। विज्ञान र गणितमा झनै राम्रो। मैले कोर्ने गरेको भवनमा इन्जिनियरिङ बढी देख्नु हुन्थ्यो बाबाले कलाकारिताभन्दा। इन्जिनियरिङका नक्शाले क्षितिजमा उदाउँदो घामलाई छेकिसकेको थियो। अब मेरो घरमा सूर्य उदाउँदैनथ्यो। घरबाट यो महल भइसकेको थियो। ढोकामा कलाकौशल थिएन। क्यानभासका हिमाल पग्लिसकेको थियो। बगैंचामा फुलेका फूलहरु रंगहीन भई ओइलिसकेको थियो। किनकि म इन्जिनियर भइसकेको थिएँ। सर्टिफिकेट झुन्ड्याकेको थिएँ, आफ्नै घरमा।
बाबाले गर्वले छतबाट तल हेर्दा, म आँखा तन्काई पल्लो घरसम्म डुलाउँथेँ, ती झुन्डिएको पेन्टिङमा। व्यर्थ थियो त्यो हेराई। कलाकारिता मृत्युसैयामा पल्टिसकेको थियो। आर्यघाट पुगेको त्यो कलाविहीन आत्माले पशुपतिमा कलाकौशल कहीँ देखेन। बाबा हुँदा यतिसम्म पनि ठिकै थियो। उहाँको मुस्कानमा मनका भारी बिसाएझैँ हुन्थ्यो। अब त न कलाकारिता छ, न त मेरो इन्जिनियरिङमा रमाउने बाबा। आफू त रमाएँ, बाबाको मुस्कानमा ।
अब त खै?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।