गणेश तामाङ

छविलाल नेपाल, पेसाले बोर्डिङ पढाउने मास्टर, गाउँ छाडेर शहरमा कोठा भाडामा बसेका छन् । लामो लकडाउनले सबै क्षेत्रलाई प्रभाव पारेको छ ।

पाँच महिना भो लकडाउन भएको । सुरुका केही महिनाहरू त सजिलैसँग बिते । चौथो महिना लागेपछि अलि समस्या हुन थाल्यो । पैसा सकिन थाले, सापट मागौँ, सबैको एकै समस्या !

तलब नपाएको पाँच महिना भयो । अनलाइन कक्षा त पढाएकै हो तर पैसा पाइएको छैन ।

बाहिर लकडाउन भए पनि पेटमा लकडाउन नहुँदो रहेछ । बिहान चिया पिउने तलतल लाग्यो चिनी सकिएछ । छोरीले दूध मागेर झगडा गरी ।

छविलाल मौन भएर हेरिरहे, भान्सामा सामान सकिएछ । लकडाउनमा उधारो पनि दिन खोज्दैनन् । केही पैसा सापट पाउँछु कि भन्ने आशाले श्रीमतीलाई भने, “सामान के के सकिएछ यसो लिस्ट तयार गर है, म यसो पैसा खोजेर आउँछु ।” पैसा पाउने झिनो आशाले छविलाल बाहिर निस्के ।

तीनतिर चहारे बल्ल पच्चिस सय पाए । घरमा आएर मागफारम हेरे र गम खाए । “विलासी आवश्यकता घटाउनु पर्दैन ?” श्रीमतीले भनिन्, “घटाउँदा यति भएको हो । मिल्छ भने हजुरले घटाएर ल्याउनुहोस् न !”

पसलेलाई लिस्ट थमाए । सामान निकालेपछि हिसाब सोधे । जम्मा पचपन्न सय असी भएको पसलेले जानकारी दिए ।

“बाँकी खातामा लेख्न मिल्दैन ?” छोटकरीमा सोधे । साहुजीले भने, “लकडाउने चल्नै गाह्रो छ सर” ।

छविलाल नतमस्तक भए, एकपटक खल्ती छामे अनि सामानलाई हेरे र सानी छोरी सम्झिए ।

भने, “अब के गर्ने त ?”

छविलालको विलखबन्द हेरिनसक्नुको थियो ।