नाम चलेका र स्थापित उनको पेशा नै लेखन हो । सामाजिक सञ्जालमा मनग्गे साथी । लेखेर पोस्ट गर्न भ्याएका छैनन्, लाइकका वर्षा छुट्ने । कमेन्टको उस्तै मारामार । वाह ! यस्तो पो रचनाा ! आहा ! मन छुने ! उत्कृष्ट ! आदिआदि प्रतिक्रिया ।

उनी मख्ख पर्थे । झनै उत्साहित हुँदै छिनछिनमा नयाँनयाँ पोस्ट गर्थे । फुर्सदिलाहरु लाइक कमेन्ट गरिरहन्थे ।

एउटा नयाँ साथी थपिन खोज्यो, प्रस्ताव पठायो । सधैँझैँ सरल ढंगमै स्वीकार गरे उनले अरुलाई जस्तै ।

थपिएको नयाँ साथीले उनलाई धन्यवाद पठायो । उनले पनि खुसी व्यक्त गरे साथी बन्न आएकोमा र अब कमसेकम गहकिलो सकारात्मक कमेन्ट नभए पनि कमसेकम अर्को एउटा ‘लाइक’ थपिने विश्वास लिए ।

विनोद नेपाल

एकैछिनमा एउटा सामग्री पोस्ट गरे ।

पहिलो प्रतिक्रिया नयाँ साथीको आयो ।

तर लाइकभन्दा पहिले कमेन्ट । ‘खोई मैले त केही मेसो नै पाइनँ ।’

उनी आश्चर्यमा परे ।

जवाफ लेखे, ‘यो पढेर होइन, हेरेर प्रतिक्रिया जनाउने ठाउँ हो ।’

थपिएको साथीको नाउँ एकैछिनमा ‘एड फ्रेन्ड’मा देखिन थाल्यो ।