हरिचन्द्र ढकाल

‘जय नेपाल सर,’ हाकिमको ढोकैनिर पुगेर प्रवेशले गोडा बजारेर सलाम गर्यो । हाकिमले अनुहार नै नहेरी मुखले मात्र सलाम फर्काए ।

‘नौ महिना बढी भयो सर घर नगएको, घर पनि पश्चिम हो । यस पटक पनि घर जाने लिस्टमा मेरो नाम छुटेछ । चाडपर्व भएकाले मात्र जान खोजेको हुँ । पाँच दिन मात्र भए पनि पुगेर आउँथे हजुर !’

उसले एकै श्वासमा रिपोर्ट गर्न भ्यायो ।

‘तेरो मात्र घर छ ? तँलाई मात्र चाडबाड आएको छ ? हाकिम पुलुक्क हेरेर कड़किए । हाकिम रिसाउँदा चुप बस्नु पर्छ भन्ने प्रवेशलाई थाहा थियो ।’

‘एक सय पचास जना लगातार घर गइरहेका छन् हजुर ! मेरो घर अलि टाढा भएकाले यो बेला जाने भनेर बसेको, नाम सिफिरिस नभएकोले यहाँ आएको हुँ, हजुर !’ एक छिनको मौनता तोडदै प्रवेशले भन्यो ।

‘तेरो समस्या पीरमर्का सबै तलबाट मिलाएर ल्याएपछि मात्र मैले स्वीकृत गरेको छु, तँ घामड रहेछस्, त्यसैले तेरो परेन होला । तेरो घर नै पश्चिम रहेछ, हेर्दै घामडजस्तो छस् । तैँले साथीहरु उचाल्छ्स्, केही सम्झेजस्तै गरिसकेपछि अडकलको भरमा हाकिमले हकारे प्रवेशलाई ।’

सलाम गरेर नबोली चुपचाप प्रवेश बाहिरियो ।

सधैँभरि सामेलीको ब्रिफिङमा समस्या सुनवाई नभए सिधै मेरो कार्यकक्षमा आउनु भनेकोले मात्र प्रवेश हाकिमको कोठामा गएको थियो । सरुवा हुँदा उसको मात्र दरबन्दी टाढा परेको थियो । सबैको घर नजिक-नजिक भएकोले निरन्तर घर आउजाउ गरिरहन्थे । तारन्तर घरबाट फोन आउँदा पनि राष्ट्र र जनताका लागि काम गर्ने सिपाही बेलाबखतमा मात्र घर आउन पाउँछ नि भन्दै उसले सम्झाउँथ्यो घरमा ।

‘प्रवेश अस्ति तैँले सबै साथीहरूसँग गरेको, पढ्नु पर्छ, ड्राइभिङ, कम्प्युटर सिक्नुपर्छ, हातमा कुनै न कुनै सीप भयो भने काम सजिलो हुन्छ भनेर ब्यारेकमा गरेका कुराले अनर्थ पो लागेछ त !’ साथी विमलले एकै पटकमा कुरा टुंग्यायो । प्रवेश निशब्द भो ।

‘हो, हजुर त्यो प्रवेश काम त जानेको छ तर घामड रहेछ । हुन त कार्यालयको सबै काम उसले गर्छ । कम्प्युटर ड्राइभिङ सबैमा पोख्त छ । कुनै योजना तयार गर्नुपर्यो भने छिनमै तयार गर्छ । भाषण त झन् कति राम्रो गर्छ । अधिकृतको तयारी पनि गरेको छ तर साथीहरु उचाल्छ हजुर ! धेरै पढेँ भन्ने घमण्ड हो कि हजुर ! बिल्लादरको प्रमुखले हाकिमसँग गरेका कुरा विमलले पनि सुनिरहेको थियो ।

‘त्यसलाई कार्यालयबाट दिने सबै सुविधा बन्द गरिदिनू,’ हाकिमले एकतर्फी कुरा सुनेर उर्दी जाहेर गरे ।

‘हस् हजुर !’ बिल्लादार प्रमुख झन्नै विमलसँग ठोकिन जोगिएर बाहिरियो ।

प्रवेशको कुरा लगाएकोमा विमल निराश थियो । प्रवेश र विमल धेरैबेर एकैखाले कुरा गरे । एउटा पूर्वको अर्को पश्चिमको भए पनि दुवैमा मिल्ती थियो । सही कामको सही मूल्यांकन हुन नसकेकोमा दुवै खिन्न देखिन्थे । बिल्लादार प्रमुखले किनकिन सधैँ प्रवेशको खेदो खन्न थाल्यो । उसको कुरा हाकिमले पटक्कै सुनेनन् । प्रवेशले जागीरबाट राजिनामा दियो ।

आज जिल्लामा हुन गइरहेको जिल्लाको सुरक्षा कसरी मजबुत बनाउने भन्ने विषयको बैठकमा सुरक्षा प्रमुख, जनप्रतिनिधि, सरोकारवाला सबै उपस्थित भइसकेका थिए । जिल्ला समन्वय समिति सभापति आएपछि कार्यक्रम शुरु भयो । जिल्लामा शान्ति सुरक्षा कायम राख्ने, चाडपर्वलाई लक्षित सुरक्षा योजना ल्याउने लगायतका विषयमा छलफल गरी केही निर्णयहरु पनि भए । कार्यक्रम सकिएपछि चियापानमा सबै सरिक थिए।

‘आरामै हुनुहुन्छ सर ?’ प्रहरी प्रमुखलाई पछाडिबाट कसैले सोधेको सुनियो । प्रमुखले ठीक भएको जानकारीस्वरूप टाउको मात्र हल्लाए ।

‘म पनि पन्ध्र वर्ष पहिला तपाईंको जस्तै प्रहरी सेवामा थिएँ तर अचानक राजिनामा दिनुपर्यो । आफ्नै जिल्लामा आएर जनताको सेवाका लागि राजनीति गरेँ । अहिले जिल्ला समन्वय समितिको अध्यक्ष भएको छु । यो तपाईंको देन पनि हो है सर !’ हाँस्दै धेरै कुरा बिस्तारै भने सभापतिले । प्रहरी प्रमुख अचम्म परे ।

‘तपाईं पूर्वमा हुँदा मेरो कामको जश दिनु भएन । सुविधाबाट वञ्चित गर्नु भो । बाध्यताले निस्केको थिएँ, ठीकै भएछ । त्यही बेलाको संकल्पले काम गरेँ होला सायद । आज खुशी छु,’ हाँस्दै फेरि कुरा जोडे सभापतिले ।

‘त्यही प्रवेश हो र हजुर ?’ प्रहरी प्रमुख अक्मकिएर सोधे । प्रवेश फिस्स हाँसे मात्र ।

खाँदै गरेको चियाको कप टेबलमा राखेर प्रहरी प्रमुख सभापतिलाई सलाम गरी हतार छ है भन्दै कार्यक्रम स्थलबाट बाहिरिए ।

काठमाडौँ
हालः धनकुटा