मधुसूदन घिमिरे

जिन्दगीको अन्तिम फोन कल उसलाई लगाएँ । ठ्याक्कै ६ महिनापछि ऊसँग बोल्दै थिएँ ।
“हलो !” मैले बोलेँ ।
गालामा फोन टाँसेर म बसिरहेँ ।
उसको आवाज सुन्न म व्यग्र थिएँ तर उताबाट केही आवाज आएन ।
“के गर्दै?” मैले फेरि भनेँ ।
उसको आवाज केहीबेर आएन, केवल स्वार्र स्वार्र मात्र भैरह्यो । हावा पो चल्दैछ कि उसको गाउँमा?
केही सेकेन्डपछि उसको मसिनो स्वर सुनियो- “सुन्तला खाँदै ।”
मैले पनि उसले झैँ लय मिलाएर सोही वाक्य दोहोर्याएँ ।
“म त आफ्नै बारीको सुन्तला खाँदै,” उसले घुर्की देखाउँदै भनी ।
“कत्रो पो होला र तिमी जत्रै बोटले जन्माएका सुन्तला !”
“जिस्किने बानी अझै गएन है?” जिस्केकै पारामा ऊ बोली ।
थोरै हाँस्दै मैले भनेँ, “तिम्रो पनि त घुर्क्याउने बानी उस्तै त रहेछ नि !”
त्यसपछि कोही केही बोलेन । अबेरसम्म फोन सुसाइरह्यो, उसको गाउँको तमोर नदीसरि।
म भन्न खोज्दै थिएँ, मेरो बानी उस्तै छ, तिम्रो बानी पनि उस्तै रहेछ । आखिर किन मन फरक भयो त?
टु-टु-टु…
ला ! फोन काटिछे !
घाँटीमा आउँदै गरेको प्रश्न त रोकियो तर मनको हाइवेमा भने प्रश्न बोकेका गाडीहरू ओहोरदोहोर गरिरहे ।
“बानी जिस्किने मात्र होइन, तिम्लाई माया गर्ने बानी पनि उस्तै छ, जस्तो पहिले थियो,” बोल्ने मन त अझै थियो तर सुन्ने मन थिएन मसित ।
मेरा प्रश्नहरूको जवाफ दिन न ऊ थिई, न त म तयार भएँ- उसले तँलाई माया गर्दिन भन्ने आफ्नै मनको आवाज सुन्न ।