बिएस नीरव

अघिल्लो साल उनी दुई जिउकी भएकी थिइन् । श्रीमान् ले गर्भ जाँच गर्न लगाए ।

कन्याले बास लिएकी रहिछन् । जबरजस्ती उसले गर्भपतन गरायो । छोराको आशमा निर्दोष छोरी पतन गराएपछि अर्को साल उसले चिना फुकायो ।

ज्योतिषीले ग्रह शान्ति गर्न सुझाए ।

उसले एउटा असल पण्डित खोजेर ग्रह शान्ति गरायो । पण्डितले कन्यालाई टीका लगादिन भने ।

उसले छिमेकबाट एउटी कन्या खोजेर ल्यायो । टीका लगाउने बेला कतैबाट आवाज आयो, “बाबा मेरो के गल्ती थियो र ? मलाई नि टीका लाइदिनू ।”

उसले झलक्क सम्झ्यो, “आफ्नै सुकुमारी कन्याको हत्या गरेर अर्की कन्यालाई टीका लगाएर के हुन्छ र ? कति राम्रो अनुहार र हात थिए उसका !”

ऊ छाँगाबाट खसेजस्तै भयो ।

फलेवास –७ लिमिठाना