हरिचन्द्र ढकाल

‘यी दुई खुट्टेहरूले हामीलाई पूरा आयु बच्न नदिने भए भाइ,’ एउटै डालीको घाँस चपाउँदै ठूलो खसीले सानो खसीलाई भन्यो ।

‘हो नि ! हेर्नु न, हिजो मेरो सहोदर दाजुलाई शिरछेदन गरी कसरी तातो पानीले नुहाइदिए,’ सानो खसीले बिलौना पोख्यो ।

‘यिनीहरु के हामीबिना बाँच्न सक्दैनन र ?’ फेरि दुखेसो उस्तै रह्यो ठूलो खसीको ।

‘कुनै दिन हामीबाट झुक्कियर भए पनि यिनीहरु कसैको कतै सामान्य समस्या भयो भने संसारै भरी समाचार बन्छ, हामीलाई आज हो कि भोलि मर्ने ठेगान छैन । यी मानिस साँच्चै पानी हुन् दाइ,’ लामो सुस्केरा हाल्दै सानो खसीले दुःख पोख्यो ।

‘यिनका भगवान् पनि कस्ता ? हामी मरेपछि मात्र खुसी हुने,’ ठूलोले कुरा अघि बढायो ।

‘हाम्रा भगवान् र यी मान्छेका भगवानको कुरा हुँदैन रहेछ है ? हाम्रा भगवान् निरीह रहेछन् !’ सानोले अलि जंगिएर बोल्यो ।

‘हैन भाइ यही संसारको कुनै कुनामा त हामी जस्तैलाई पूजा पनि गर्छन् नि !’ ठूलोले सबै देखेजस्तै गर्यो ।

‘यी मान्छेको भाषा हामी निर्दोषले बुझ्दैनौँ दाइ, सृष्टि एक रीत अनेक ! कतै पूजा कतै काटमार । सायद हाम्रो माग पूर्ति गराउन नसकेर हो कि ?’ ठूलोको कुरा सुनेपछि सानोले भन्यो ।

‘हामीजस्ता निर्दोषलाई आहार बनाई खाएर होला, आजकल यी मनुवाहरुलाई भाउँतो-भाउँतो रोग लाग्छ रे ! तैपनि यिनहरुको शुद्धि फिर्दैन,’ सानोले फेरि ज्ञानवान् कुरा सुनायो ।

‘यिनका भोज भतेरमा हामी सहिद हुनुपर्ने, चाडबाड आयो कि हामीले जीवन तिलान्जली दिनुपर्ने, यिनलाई शरीरमा क्यालोरी हाम्रो शरीरबाट दिनुपर्ने ? रोगबाट तंग्रिन हामी निरोगी सकिनु पर्ने, हाम्रो बोली भाषा नबुझेकै भरमा यत्रो विधि अन्याय !’ एकै पटक धेरै गुनासो पोखियो ठूलो खसीको ।

‘हाम्रो छुट्टै सन्सार भए त हो दाइ ! नत्र यो दुनियाँमा हाम्रो कुनै गुन्जायस नै छैन,’ सानो खसीले निराशाको भावमा भन्यो ।

‘यिनले दिनदिनै हामीलाई तातो कराईमा नभुटेको भए यिनको र हाम्रो संख्या पनि बराबर हुन्थ्यो अनि त हामी पनि मन फुकाएर हिँडडुल गर्न, जताततै चर्न पाइन्थ्यो होला है दाइ ?’ सानोले पनि धेरै कुरा बुझ्ने भएको ठानेर कान हल्लायो ठूलोले ।

डालीको घाँस खाँदै गर्दा खसीको छेउमा दुई जना मानिस आएर आफ्नै भाषामा कुरा गरे, दुवै खसीले केही बुझेनन् । एक जना मानिसले घाँटी, गर्धन, ढाड छाम्दै दाम्लो फुकायो ।

‘सायद मेरो पालो आयो होला भाइ ! हाम्रो भेट आज अन्तिम रहेछ । हामी केही गर्न सक्दैनौँ, जति दिन बाँचिन्छ खुसी भएर बाँच ल !’ ठूलोको कुराले सानोले बर्रर आँशु खसाल्यो ।

ठूलो खसीले धेरै भाव आँखाको इशाराबाट प्रकट गर्दै ओझेलियो ।

सानो खसी एक्लै घाँस खाँदै आफ्नो मृत्यु निश्चित भएको कल्पना गर्यो ।

साँझपख आफूलाई बाँधिराखेको स्थान नजिकैको नालामा फालेको सिङ ठूलो खसीको हो भन्ने चिन्न सानो खसीलाई कत्तिबेर लागेन । ऊ आफू पनि एक दिन सकिनका लागि तयार भयो र अर्को पटक मानिस भएर जन्मेर बदला लिने प्रण गर्यो ।