परिवार संयुक्त थियो । सम्पत्ति र पद सबै माथिल्लो स्तरको थियो । परिवार ठूलै थियो ।

चार छोरा, दुई बुहारी । तीन छोरी विवाह भएर घर गइसकेका थिए ।

घरका पाका सदस्य श्रीमान्-श्रीमती दुवै बिमार भइरहने ।

आमाको नशा रोग, बुवाको पेटको समस्या । बुवालाई पेटको क्यान्सर हुन्छ, अपरेसन सफल, जीवन दान !

आमालाई सुगर र प्रेसरको रोग थप नसाको बिरामी पहिल्यैबाट ।

दुई वर्षमा कान्छा छोराको निधन । परिवारमा शोकको वातावरण व्याप्त ।

विधवा बुहारीले एक दिन सासू-ससुरालाई अनुरोध गरिन्, “अलिकति उहाँको निधनपछि अफिसबाट रुपियाँ पाइएको छ, अलिकति मसँग छ । मलाई अलिकति जमिन दिनुभयो भने घर बनाउँथे !”

“तिमी मात्रै छैनौ, मेरा अरु छोरा छन्, उनीहरुलाई पनि हेर्नुपर्छ । हामीलाई पनि बाँचुञ्जेल चाहियो । छोरा त गइसक्यो, अब के को घर ? यसै घरमा बस ! ” बुहारीको माग अस्वीकृत ।

“मेरो ठाउँमा तपाईँहरुको कुनै छोराले यो माग गरेको भए ?” उनको प्रतिप्रश्न ।

“त्यो अलग कुरा हो । तिमीले माग गर्नु र छोराले माग गर्नु फरक कुरा हो,” बूढाबूढीको संयुक्त जवाफ ।

बुहारी अलग भइन्, आफ्नै बलमा घरजग्गा जोडिन्।

हिजोआज अलग भएकी बुहारीको दिमागमा एउटै प्रश्न घुमिरहन्छ, “के एकल महिलाप्रति परिवारको कुनै कर्तव्य हुँदैन ? सब अग्रज पुस्ताको कुरा गर्छन् । पछिल्लो पुस्ता असहज अवस्थामा हुँदा कसले हेर्ने ?”