कोरोनाका कारण मानिस बेरोजगार भएका थिए । तल्लो तहका श्रमिकको अवस्था झन् कमजोर थियो । गाउँको स्थानीय क्लबले घरघरबाट रासन, अन्न, नगद आदि उठाएर विपन्न नागरिकका लागि भोजनको व्यवस्था गर्यो ।

उनीहरू आउँथे, खान्थे अनि जान्थे ।

कार्यक्रम स्थलको नजिकै गाउँकै स्थानीय नेताजी मानिसहरुलाई नमस्कार गर्दै भनिरहेको थिए, “जाउँ हजुर जाउँ,

यहाँहरुकै लागि भोजनको व्यवस्था गरिएको छ । मज्जाले पेटभर खाउँ ।”

उनीसँग उनका केही समर्थक पनि यस हातजोडो अभियानमा संलग्न थिए ।

साँझ पर्नुभन्दा केही अघि उनको एक समर्थकले नेताजीले हात जोडेको फोटो राखेर फेसबुकमा एक स्टाटस हाले, “हाम्रा परमदानी, अनाथहरूका पालनकर्ता, दयाका सागर महान् नेताजीबाट विपन्न नागरिकका लागि कोरोनाकालमा भोजनको व्यवस्था ।”

साँझ नेताजी त्यही विषयमा एक स्थानीय टेलिभिजनमा अन्तर्वार्ता दिइरहेका छन्, “जनतामाथि यस्तो विपत् परेको बेला हामीले सहयोग नगरे कसले गर्ने ? म मेरो क्षेत्रका जनताको जीवनप्रति अत्यन्त सचेत छु । जनता जिउँदा ईश्वर हुन् । जनताको सेवा नै धर्म हो ।”

आफ्नो जनसेवा कार्यसँग कुनै साइनो नभएका राजनीतिक नेताले आफ्नो स्वार्थका लागि कुप्रचार गरेपछि आयोजक संस्थाका मानिस अन्त्यन्त रिसाए ।

आयोजक संस्थाले वितरण गरेको विज्ञप्ति यस्तो थियो, “हामीले हाम्रो गाउँको स्थानीय क्लबमार्फत् गरेको विपन्न नागरिकलाई भोजन कार्यक्रममा कुनै राजनीतिक समूह वा तिनका नेता, कार्यकर्ताको संलग्नता एवम् योगदान छैन । यो विशुद्ध सामाजिक अभियान हो । स्थानीय समाजमा रहेका विपन्न नागरिकप्रति मानवीयताको नाताले यो कार्यक्रम गरिएको हो ।”

खबरसँगै मानिसहरुबाट मिश्रित प्रतिक्रियाको ओइरो लाग्यो । आधा मानिसले नेताका कुरामा विश्वास गरे, आधाले क्लबको !