१. म बच्चै हुँ

ओपीडीको कुनामा पन्ध्र वर्षीय किशोरी कपालले अनुहार ढाकेर बसिरहेकी थिइन् । हातमा मेहन्दी, चुरा र पाउमा पाउजुका झ्याप्टाहरूले उनको उमेर लुकाएको थियो । 

सासू फुसफुसाइरहेकी— “डाक्टरले जे भन्नुहोला, मानिदे है… मान–इज्जतको कुरा हो ।”

किशोरीको हात काँपिरहेको थियो । गर्भभन्दा गहिरो डर—आफू हराउँदै जाने डर ।

भित्र बोलाएँ ।

“उमेर ?”

“पन्ध्र…” आवाज बालुवामा खसेको पानीजस्तै ।

बिस्तारै उसले भनिन् – “डाक्टर साब… म आमा बन्न चाहन्न । विद्यालय जान चाहन्छु । म त… बच्चै छु ।”

सासू तुरुन्तै ठप्प बोली— “हामीकहाँ सबैले बच्चैमै बच्चा पाउँछन् ।”

किशोरीले पहिलोपटक आँखामा आँखा मिलाइन् — “तर म..सपनाबाट बाहिर निकालिइन चाहन्न ।”

एकछिन सबै थामियो — एसीको आवाज, ओपीडीको घडी टिकटिक पनि ।

फाइल बन्द गर्दा मैले महसुस गरेँ — उनी बच्चा जन्माउने कोठासम्म त आएकी छ तर उसको बाल्यकाललाई कसैले पनि जन्मिन दिएको रहेनछ ।

बाहिर निस्कँदा ऊ कपालभित्र लुकेका आँखाले मात्र भनिरहेकी थिइन् —

“म आमा होइन… म त बच्चै छु । मलाई अझै आमाको काखमा सुत्न मन लाग्छ ।”

२. अवलोकनको घाम

हलमा मधुरो बत्ती, बाक्लो पर्दा अनि रातो कार्पेट ।

वक्ताहरू आँकडा फुकिरहेका — “शिशु मृत्यु दर…”, “आमाको जोखिम…”, “स्वास्थ्यको क्षति…”

तर कुनामा बसेका डाक्टर नरेशका लागि ड्यासमा कुर्सी थिएन, बोल्ने पालो थिएन । कार्यक्रमले स्वास्थ्यको कुरा त गर्यो, तर स्वास्थ्यकर्मीलाई भने दृश्यबाटै हटायो ।

अन्त्यतिर एक वृद्ध आमाको काँपेको हात उठ्यो— “सबै स्वास्थ्यको कुरा गरिरहनुभयो ।

तर स्वास्थ्य हेर्ने डाक्टरलाई यहाँ किन बोलाउनु भएन ?”

हल एकछिन मौन भयो —न त ताली आयो, न जवाफ ।

कार्यक्रम सकियो ।

नरेश बाहिर निस्कँदा साँझको घाम ढल्दै थियो तर उनको मनमा एक बलियो उज्यालो उठिसकेको थियो — “अर्को पटक, ड्यास नपाए फ्लोरबाटै स्वास्थ्यको कुरा राख्छु ।”

मौनताले त्यो प्रतिज्ञा सुनेको थियो । हलले हैन ।

३. आँट 

प्रसूति वार्डमा बिहानको घाम हल्का मात्र टल्किएको— ठ्याक्कै सुनैनाको मनजस्तै ।

सेतो कोटमा कापी पल्टाउँदै ऊ हिच्किचाइरहेकी थिइन् ।

डाक्टरले सोधे— “पढ्यौ त ?”

“पढेँ सर… तर हातले बिमारी छुन डर लाग्छ ।”

डाक्टर मुस्कुराए— “मनले सिकेको कुरा हातले गर्न लगाउँछ ।”

उनीहरू प्रसव पीडामा छटपटाइरहेकी आमासम्म पुगे । सुनैना केही टाढै थिइन् । 

तर आमाले काँपेको हात उठाएर उसको हात समाइन् — “छोरी, पीडाले शरीर थाक्छ । डरले मन मर्छ । आँट गर… म तिम्रो साथमा छु ।”

त्यो स्पर्शले सुनैनाभित्र आँट जगायो । उसले एक गहिरो सास फेरिन् — पहिलो पटक कापी होइन,

एउटा जीवनले सिकाएको पाठ समाउँदै थिइन् ।

ड्युटी सकिँदा वार्ड उस्तै थियो तर सुनैना उस्तै थिइनन् । कापीका पानाहरू खाली नै थिए तर मनमा आज पहिलो शब्द उदाएको थियो — “आँट” ।