कोठा नजिकै टकटक आवाज आइरहेथ्यो । जुनूले सोची पक्कै आमा नै हुनपर्छ । उसले आफूलाई सम्हाल्दै किताब पढे जस्तै गरी । टकटक पदचापको आवाज ऊतिर नै आइरहेथ्यो ।
‘जुनू’ भन्दै उसकी आमा ढोका जोडले धकेल्दै कोठामा आइपुगिन् । राताराता आँखा पार्दै रिसको झोकमा जुनूलाई हेर्दै भन्न थालिन्, ‘तँ यत्रो बेरसम्म कहाँ गएकी थिइस् ?’
आमाको त्यो रूप देखेर डरले काम्दै मौन रही । चुपचाप शिर झुकाएर बसिरही । “ए, भन् त कहाँ गएकी थिइस् ? कसलाई भेट्न गएकी थिइस् ?”
ऊ झन्झन् डरले चुपचाप रही, केही नबोली बसिरही ।
“त्यै मसानेलाई भेट्न मरेकी थिइस् होइन ?” रिसले आगो हुँदै आमाले उसको लामो कपाल लुछ्न थालिन् । “थुक्क मर्न नसकेकी, यस्ती अलच्छिनी त गर्भमै तुहेको भए राम्रो” भन्दै दुईचार थप्पड हान्न थालिन् ।
“अबदेखि त्यो कामी केटोसँग भेट गर्छेस् कि गर्दिनस् ? भन तँलाई आज म नमारी छाड्दिनँ । तँलाई यत्रो दु:खकष्ट गरेर पढाएको यसै गर्नका निम्ति हो ? आज त्यो कामी केटोसँग प्रेम गरेर मेरो समाजमा बेइज्जत गर्न चाहन्छेस् ! मेरो गाउँघरमा बदनाम गर्न चाहन्छेस् !” भन्दै तीनचार थप्पड हान्दै भुइँमा पछारिदिई र मूल ढोका थुनेर पल्लो कोठातिर लागी ।
केही समयअघि एक हुल केटाहरू लिएर शर्माकी बुहारीले भक्तेको घरमा गएर भन्नसम्म भनी, कर्णेलाई मार्ने धम्की दिई । कर्णेलाई आफ्नो गाउँबाट चाँडै बाहिर नपठाए अपहरण गर्ने धम्की दिँदै शर्माकी बुहारी आफ्नो घरतिर लागी ।
भक्तेको मनमा अनेक कुरा खेल्न थाल्यो । एउटा चुरोट सल्काएर मनमा कल्पना गर्न थाल्यो, “आज के यो मेरो कानले सुन्नु परिरहेछ ? शर्माकी बुहारीले किन धम्की दिइरहेकी छ ? के कर्णेले शर्माको नातिनीतिर आँखा गाड्यो कि ? ठूलो जातको घरमा पो हात हाल्यो कि ?”
उसको मन अमिलो भएर आयो उसले सिग्रेटको धुवाँ सर्रर आकाशतिर छोड्दै एकछिन सोच्यो ।
भक्तेले आफ्नो मन थाम्न सकेन, कर्णे सुतेको कोठातिर हेर्न गयो । कर्णे कोठामा चुपचाप बसिरहेको रहेछ । भक्तेले आफ्नो छोरालाई बोलाएर दुईचार थप्पड चट्काई हाल्यो, “तँलाई हामीले यतिको लागि दुःख गरेर पढाएको ? आजसम्म कामीको छोरो भए पनि कसैको लात खाएको छैन । आफ्नो इमान धर्म बेचेको छैन, कसैको धम्की सुन्न परेको छैन । आफ्नो रगत पसिना बगाएर यै फलाम खेलाएर सबैलाई खुशी बनाएर राखेको थिएँ तर आज तैँले गर्दा शर्माकी बुहारीले धम्की दिएर गई । सत्तोसराप गरेर गई, हाम्रो घरमा आगो लगाइदिने रे, तँलाई मारेर फाल्ने रे । हाम्रो घर उठीबास लगाउने रे । मैले कतिकति सपनाहरू सजाएको थिएँ तँलाई धेरै पढाएर ठुलो मान्छे बनाउँला भनेर । अरु बाहुन नेवारका छोराहरू झैँ मेरो छोरा पनि सरकारी नोकरी खाएर हाकिम भएको हेर्न चाहन्थेँ तर तँ कलेज गएर त्यै ब्राह्मणकी नातिनीसँग पो सल्केछस्, प्रेम गर्न लागेछस् ।”
फेरि अर्काे सिगरेट सल्काउँदै उसले भन्न थाल्यो– “कर्णे, अब तेरो गाउँघरमा हल्ला भइसक्यो, बदनाम भइसक्यो । तेरो हिम्मत छ भने र पाल्न सक्छस् भने बुहारी भगाएर लिएर आइज, हेरौँ दुःख गरेर भए पनि पाल्न त सक्छस् होला नि ।” भक्तेले छोरालाई आँट र हिम्मत दियो ।
घरको आँगन वरिपरि छरछिमेकहरू भिडभाड थिए । गाउँघरका मान्छेहरू भक्तेको कुरा सुनिरहेथे । भक्तेले फेरि आफ्नो अनुहार दुई हातले मुसार्दै भन्न थाल्यो– “हामी कामीकै छोरा भए पनि ब्राह्मण, नेवारका सन्तान भन्दा कम छैनौँ । मिहिनेत परिश्रम गरेर जहान बालबच्चा पालेकै छौँ । यही फलाम, पित्तल खेलाएर सबैको सेवा गरेकै छौँ । मैले कसैको चित्त दुखाएको छैन । हाम्रो पनि समाजमा इज्जत छ । कामीकै छोरा भए पनि मन हाम्रो सफा छ । सबैलाई मायाप्रेम गरेको छु तर हामीलाई डुम, चमार मसाने, अछुत भनेर हेला गर्ने ? सानो जातको पानी नचल्ने जाति भनेर घृणा गर्ने, हेप्ने ? यो कस्तो नियम हो ? कोही ठूलोसानो जात हुन्छ, यो कस्तो भेदभाव ? सबैको जात एउटै हो नेपाली । सबैको रगत रातो हुन्छ, कसको निधारमा तँ ठूलो जात, तँ सानो जात भनेर लेखेको हुन्छ ? तँ बाहुन, नेवार, कामी दमाई भनेर लेखेको हुन्छ ?” उसले जुनीजुनीको रिसको आगो एकैपल्टमा भनेर सिध्यायो ।
कर्णेलाई आफ्नो बाउको कुरा सुनेर हिम्मत आयो । उसका शरीरका अङ्ग अङ्गमा रगतका नसाहरू जोडजोडले चल्न थाले । उसका मनमा अनेक तरङ्ग चल्न थाल्यो । चाँडो चाँडो गरेर रक्सीले मातेको मान्छे झैँ गरी मूल सडकको पेटीमा दोडँदै दौडँदै गएर घर छेउमा जुनूको नम्बरमा फोन लगायो– “हेलो जुनू, म कर्ण बोलेको । तिमी चाँडो वरपीपल चौतारीमा आऊ है, म तिमीलाई लिन आएको, चाँडो आऊ है ।”
“हुन्छ” भन्दै जुनूले फोन राखी ।
जुनू आफ्नो एकसरो घरमै बस्ने लुगा लगाएर बिस्तारै घरबाट निस्की । ऊ चाँडोचाँडो पाइला चाल्दै वरपीपल चौतारीमा आइपुगी । कर्णेले जुनूलाई मायाले च्याप्प समातेर मूल सडकको किनारैकिनार हिँडाउँदै दौडाउँदै मध्यरात घरमा ल्यायो ।
घरमा चारैतिर बिजुली बत्ती झलमल्ल बलिरहेको थियो । घरका ठूला साना सबैजना हर्षाेल्लासको मुहार लिएर नवदुलहीको स्वागतमा बसिरहेका थिए । कर्णे र जुनू घरको मूल ढोकामा उभिरहे । भक्ते र सुन्तलीमा पनि खुशीको लहर छायो । आमाले तामाको थालमा रातो अक्षता, हरियो दुबो लिएर आइन् । आफ्ना छोरा बुहारीलाई मूल ढोकाबाट प्रवेश गराउँदै भक्तेले रातोटीका लगाउँदै आशीर्वाद दियो– “तिमीहरू सुख, शान्तिले बाँच्नू, समाजको सामुन्ने आफूलाई कहिले कमजोर नठान्नू । आजदेखि तिमीहरू पतिपत्नी भयौ ।”
आमाले पनि रातो टीका र हरियो दुबो दिँदै बुहारीलाई मायालु नजरले हेरी । केहीछिनमै चारैतिर हल्ला फैलियो – शर्माको नातिनी जुनू भक्तेको छोरो कर्णेसँग पोइल भागी ।
भक्तेले निधारको पसिना पुछ्दै सिग्रेटको धुवाँ छोड्दै घरको बरन्डाबाट भिडहरूमा हेर्दै भन्यो – “हेरौँ त आज मेरो घरमा कोको आउँदा रहेछन्, मेरा छोरा बुहारी खोस्न ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




