“ए साँइली बुहारी, त्याहींतिर हाम्रो पाठो आएको छ र ? बिहानदेखि खोजेकी छु, कतै भेटिँदैन, बाई ।”

“ए बजै, यतै आइबस्नुस् न । आज घरकै भाले काटेर यो जाडोमा कोदोको ढिडोसँग कपाकप खान भनेर बोलाउन आएकी ।“

“सुन न, साँइली—हाम्रो पाठो खोज्न हिँडेकी, कता गइस् ? अनि तिम्रो भाले त काटेपछि बास्न त खसी–बोकाजस्तो पो छ हो !”

साँइली रिसाउँदै—
“बजै, के बोलिरहनुभएको ? जाबो एक छाक मासु खानलाई अरूको पाठो ढाल्ने हैनौँ हामी । गरीब छौँ भनेर यति धेरै नहेप्नुस् ।”

बजै कड्कँदै—
“तँ त मेरा नजरमा सधैँ चोरझैँ लाग्छेस् । पहिला छोराको मन चोरिस्, अनि मेरा गहना चोरेर छुट्टिएर बसेकी छस् ।”

रिसले आगो भएकी साँइली—
“तिम्रै छोरा मामाघर जाँदा मेरो मन चोरेको ! बैँसले पातेको तिम्रो छोरालाई घरको कोठाभित्रै औँलो लगाएर राखेको भए हुन्थ्यो के रे !”

यत्तिकैमा साँइली र बजैको झगडा हात हालाहालसम्म पुग्छ ।

बजैले साँइलीलाई अगेनोछेउको चिरपाटे दाउराले हान्दै थला पार्छिन् ।

साँइली कराउँदै—
“कुकुरलाई घिउ कहाँ पच्नु ! जाडोमा तातो खान भन्या त उल्टै मलाई यस्तो बनाइदिएको ! हेर बजै, तिम्रा अरू सबै बुहारी शहरमा छन् । तिमी मर्दा त पानी खुवाउने म नै पर्ला नि !”

बजै आँखै रातो पार्दै—
“तेरो कहिल्यै भलो नहोस् ! आज आएर मेरो पाठो मारिस् !”

साँइली पनि के कम—
“हेर्नुस् बजै, मैले आज तपाईंको पाठो मारेकी भए छ महिनाभित्र तपाईंको छोरालाई घुम्टो पर्ला !”

त्यसैबेला उता जंगलतिरबाट पाठो ‘प्याँ–प्याँ’ गर्दै आइपुग्छ ।