दशैंको बिदा। घामसामको बालै हुन्थेन। छतमा गयो, चंगा बनायो। उडायो।
त्यो दिन हामी सधैंको दशैंमा झैं सामान्य आकारको चंगा उडाउँदै मजा लिइरहेका थियौं।
हामीले उडाइरहेको आकाश नजिकै एउटा ठूलो चंगा देखा पर्यो। रंगीन चंगा। त्यति ठूलो र रंगीन चंगा हामीले पहिलो पटक देखेका थियौं।
हामी भने चामलको बोरामा आउने प्लास्टिक च्यातेर सिन्के कुचोको सिन्का आमाले नदेख्ने गरी भाँचेर बनाएको चंगाबाट असिम आनन्द लिइरहेका थियौं।
यत्तिकैमा त्यो ठूलो चंगा हाम्रो सानो चंगा भएतिर आयो। हामीलाई थाहा थियो, हाम्रो चंगा त्यो ठूलो चंगासँग जुध्ने ल्याकत राख्दैन। हामी हाम्रो चंगा परपर भगाउँथ्यौं। लट्टाईमा धागो बेरेर तलतल झार्थ्यौं। त्यो चंगा पनि हाम्रो चंगालाई पछ्याउँथ्यो। जता गयो, उतै आउँथ्यो।
त्यो चंगाले खेदेको देखेर एक्कासि रने जंगियो। उसले आफ्नो चंगा जुधाउने निधो गर्यो। त्यसैले आफ्नो चंगा त्यो रंगीन चंगा आएतिरै लान लट्टाईबाट धागो छोड्यो।
निमेषभरमै रनेको चंगा चेट भयो। रने रन्थनियो।
“खै ले त तेरो चंगा! तेरो चंगाले त्यो सालेलाई चेट पार्दिन्छु !” रने झोँक्कियो।
“ह्या मुला! मुढे बलले हुदैन क्या ! त्यसको धागोमा माड दलेको छ। त्यसको धागो मोटो पनि छ। हाम्रो लुगा सिलाउने मसिनो धागोको के जोड चलोस् !” मैले तर्क अगि सारेँ ।
“दिने कि नदिने तँ पैला भन् त ?” ऊ बम्किन थाल्यो।
चंगा दिन मलाई करै लाग्यो। दिएँ।
मेरो चंगा पनि जुध्यो तर यसपालि मेरो चंगा केहीबेर टिक्यो। ऊ पूरै युद्ध लडेझैं धागो तान्ने-छोड्ने गर्दै अर्कोको धागो रेट्ने प्रयत्न गर्दै थियो।
केहीबेरमा उसको हातको धागो लत्रियो। मेरो चंगा पनि चेट भयो। पर आकाशमा मेरो चंगा चेट भएर स्वतन्त्र उड्दै थियो। चंगाको चाल हेर्दा लाग्थ्यो कि कुनै नर्तकी आफ्नो कम्मर हल्लाएर आफ्नो कला देखाउँदैछे।
अचम्म त के भयो भने हाम्रो चंगा त्यो ठूलो चंगाको सिन्कामा अड्केको रहेछ। हाम्रो चंगाले त्यो ठूलो चंगाको सिन्का अड्काएको ठाउँ च्यातिदिएछ। त्यो चंगा पनि आगोमा परेको प्लास्टिकझैं एकैठाँउमा पोको परेर तल झर्न थाल्यो।
यता रनेले कुहिनो पेटमा ठोकेर “यस्!” भन्यो।
मलाई “देखिस्!” भन्ने भावमा आँखीभौं तलमाथि गरेर जिस्क्यायो।
“कहिलेकाहीँ आफैं डुबेर अरुलाई डुबाउँदाको मज्जा बेग्लै हुन्छ, बुझिस्!” उसले गर्वका साथ भन्यो।
म उसको कुरा सुन्दै आकाशको अरु चंगाहरु हेरिरहेको थिएँ। त्यतिबेला आकाशमा राजा चंगाको पतनपछि प्रजा चंगाहरुको स्वच्छन्द रजाईं चल्दै थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।