वास्तवमा म एक मूर्ख मनुष्य हुँ भन्नेमा मलाई सानैदेखि आभाष थियो। मैले आफ्नो मूर्खतास्वरुप धेरै विवेकरहित कर्महरु पनि गरेको थिएँ /छु । धर्म, गरिबी, प्रतिस्पर्धा, सामाजिक विषमता, अर्थराजनीतिक ब्यूह आदिको मलिलो माटोमा मेरो मूर्खताको वृक्ष हुर्केको थियो। उदाहरणका निम्ति भौतिकशास्त्रको विद्युत तथा चुम्बकको स्नातक तहको एक विख्यात पुस्तकको भूमिकामा लेखिएको एक प्रसङ्गले आजसम्म पनि मलाई विस्मित तुल्याई रहन्छ।
डिजे ग्रिफिथ्स लिखित उक्त पुस्तकको भूमिकामा प्रकृतिका चार मूलभूत तागतहरुको (गुरुत्व तागत, कमजोर तागत, विद्युत-चुम्बक तागत तथा बलियो तागत) भौतिकशास्त्री तथा वैज्ञानिकहरुले आविष्कार गरिसकेको तथा यी सारा तागतहरु जोड्ने थप एक आधारभूत तागतको खोज तथा अनुसन्धानमा वैज्ञानिकहरुले निकै प्रगति हासिल गरिसकेको कुरा उल्लेख थियो।
मेरो मूर्खताको आभाषस्वरूप मलाई यस्तो लाग्न थाल्यो कि त्यो अन्तिम सबैलाई जोड्ने तागत पनि सम्भवत: मेरो स्नातकको परीक्षाफल प्राकाशनअघि नै आविष्कार भैसक्नेछ र मानवता छिट्टै नै मुद्दारहित हुनेछ। र, त्यसो भएमा भौतिकशास्त्रमा थप अध्ययन तथा अनुसन्धानको मेरो सुषुप्त तृष्णा पनि सम्भवत: धेरै उत्तम बाटो नहुन सक्छ भन्ने लाग्न थाल्यो।
धेरैपछि जब म भौतिक शास्त्रमा विद्यावारिधिको बाटो हिँड्न विवश भएँ, जीवनका घुम्ती तथा लहरहरुले, मैले आफ्नो (अ)ज्ञानता तथा मूर्खताको परिभाषासँग साक्षात्कार भएको महसूस गरेँ।
मैले बुझेँ- प्रश्नहरुको अभावको धरातलमा मेरो मुर्खता अडेको नभै प्रश्नहरुको विशालता सम्मुखको निरीहता नै मेरो मुर्खताको परिभाषा रहेछ । त्यो नै मेरो (अ)ज्ञानताको पहिलो पृष्ठ रहेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।