हरिचन्द्र ढकाल

‘हैन ! यति धेरै सामान चाहिन्छ र कार्यकारीज्यू ?’ मेयरले संकोच मान्दै सोधे ।

‘किन नचाहिनु हजूर ! एस्तो महामारीको बेला छ ! भोलिका दिनमा बजारमा केही नपाइन पनि सक्छ,’ कार्यकारी अधिकृतले मेयरलाई ढुक्क बनाऊन खोजे ।

‘महामारीको समयमा यत्रो रकमको सही सदुपयोग भएन भने त पाप लाग्छ है !’ मेयरले पाप धर्मको कुरा गरे ।

‘ए हजुर पनि ! माहामारी पनि त जुगमा एक पटक आउने हो नि ! यो त हजूरले केही गर्ने मौका पनि हो । भग्वानले नै केही गर भनेर माहामारी फैलाए जस्तो लाग्छ मलाई त !’ भगवान् लाई बीचमा ल्याए कार्यकारीले ।

कोरोना महामारीको बेला क्वारेन्टिन, आइसोलेसनको व्यवस्थापन सरकारले स्थानीय तहलाई दिने भएपछि घिचुवामाई नगरपालिकाका कार्यकारी अधिकृत पनि अन्य कार्यकारीजस्तै हर्षित देखिन्थे ।

आफ्ना मेयरसाबलाई अघिल्लो आर्थिक वर्षमा अन्य काममा छल्न पाएजस्तै यस पटक झन् सहज हुने भएकोमा आफ्ना पुराना मिलान गर्नुपर्ने व्यवहारको लिस्ट तयार पारे उनले ।

बाहिरबाट खासै मानिस आवत-जावत नहुने पालिका भए पनि पाँच सय शय्याको आइसोलेसन र हजार शय्या क्षमताको क्वारेन्टिनको व्यवस्था गर्नका लागि कार्यकारी तम्सिए ।

‘एत्रो चाहिएला र ?’ मेयरले बिहानै भेट्न आएका कार्यकारीलाई पुनः सोधे ।

‘यो त थोरै होलाजस्तो छ हजुर ! यो माहामारीले त सन्सारै खाला जस्तो छ । गाउँमा एउटालाई मात्र देखियोस् न, गाउँनै डढेलो लागेजस्तो हुन्छ रे ! संक्रमितलाई घरमा त राख्नै हुन्न । पारिको पालिकाले त झन् दुई हजारका लागि तयार पार्दै रहेछ,’ कार्यकारीले माहामारीको विज्ञता भएसरी विस्तारमा सम्झाउन थाले ।

खाट, बिस्तरा, तन्ना, सिरानी, चप्पल, ट्वालेट पेपर, दुई छाक खाना, स्वास्थ्य सामग्री, तीन छाक नास्ता गरी धेरै कुराको फेहरिस्त मेयरलाई सुनाए । मेयरले लामो सास फेरे ।

‘तीन चार ओटा टिभी र खेलकूदका सामग्री पनि जोडौँ हजुर ?’ मेयरले लिएको लिस्टमा देखाउँदै कार्यकारीले सोधे ।

‘चाहिने चिजभंन्दा अरुमा खर्च नगरौँ है ?’ मितव्ययी बन्न खोजे मेयर ।

‘हुन्छ हजूर, यति नगरे हजुरको व्यवस्थापन ठीक भएन भन्छन् । जनताकै लागि त हो नि, हैन र हजुर ?’ कार्यकारी हात जोडी बिदा भए । मेयरले टाउको मात्र हल्लाए ।

कोरोना महामारी व्यवस्थापनको नाममा करोडौँ रकमको समान खरिद गरेको बिलहरु तयार भए । खेतमा काम गर्न निस्कनेहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था गरियो । धेरै संख्यामा क्वारेन्टिनमा बसेको रेकर्ड बनाइयो ।

‘हामी तपाईंलाई पूर्ण सहयोग गर्ने छौँ, तपाई-हामी मिलेर न यो नगरपालिकाको काम गर्ने हो ! मेयरलाई खासै केही आउँदैन,’ गाउँका गन्यमान्य, राजनैतिक प्रतिनिधिलाई एक्लाएक्लै भेटेपछि कार्यकारीले यस्तो जवाफ पाए ।

आज गाउँमै खोलिएको पार्टी प्यालेसको हलमा नगरपालिकामा कोरोना महामारी व्यवस्थापनमा भएको खर्चको हिसाबकिताब सुनाउन कार्यकारीले कार्यक्रम आयोजना गरेका थिए । सत्तापक्ष, प्रतिपक्ष, स्थानीय बुद्धिजीवी, पत्रकार, पार्टी प्रतिनिधि, सबै हलमा भेला भएका थिए । खर्च विवरणको पाँच दिन अगाडि नै लेखा परीक्षण भइसकेको रहेछ ।

सबै उपस्थितले एक स्वरमा खर्च विवरण पारित गरे । कार्यक्रम चलिरहँदा मेयरको मोबाइलमा घण्टी बज्यो ।

‘लौ न हजुर ! चार दिन भो एक छाक मात्र खाना खाएको, बरु घरमै गएर क्वारेन्टिन बस्न पाए भोकले त मरिँदैनथ्यो !’ एक जनाले दुःख बिसाए ।

मेयरले पुलुक्क कार्यकारीलाई हेरे ।

‘त्यो हजुरको विरोधी हो, हजूर । पहिला पनि हजुरको विपक्षमा धेरै कुरा गर्ने त्यही त हो !’ कार्यकारीले मेयरको प्रश्न नसुनेरै जवाफ दिए । मेयर साब मौन रहे ।

दश कक्षा पनि नपढ़ेका मेयर पाएकोमा कार्यकारी आफ्नो कार्यकाल सार्थक भएको ठाने । कोरोना व्यवस्थापनमा सफलता प्राप्त गरेकामा उनी प्रफुल्लित थिए । सरकारले दिने पुरस्कारसमेत हात पारे । उनले मनमनै कोरोनाको जयजयकार गरे ।

काठमाडौँ
हाल: धनकुटा