डा. पुष्करराज भट्ट

चारैतिर खबर फैलियो । यति तीव्र खबर फैलियो कि खबर फैलाउन प्रारम्भ गर्नेलाई पनि यसको अनुमान थिएन ।

एक उच्च अधिकारी अत्यन्त चिन्तित मुडमा पुगेर भन्न थाले, “मेरा कानले के सुन्नु परेको हजुर ? यो त सोच्दै नसोचेको कुरा भयो । अहिले हजुरको गाथमा कस्तो छ ?”

“अहिले ठिकै छ । खासै त्यस्तो अप्ठ्यारो अनुभव भएको छैन । बरु यहाँ, घरमा रहिरह्यो भने अरुलाई पनि सर्न सक्छ,” उहाँले भन्नुभयो ।

“अनि विदेश सवारी हुने त हजुर ?” उच्च अधिकारीले जिज्ञासा राखे ।

“यस्तो महामारीको बेला केको विदेश नि ! कतिबेला कहाँ मरिने हो, थाहा हुँदैन । यतै अलि सुरक्षित, राम्रो ठाउँमा व्यवस्था मिलाउनुहोस्,” उहाँले आदेश दिनुभयो ।

उनी त्यहाँबाट हिँडे र केही समयपछि फर्किए ।

“हजुर राम्रो पाँचतारे होटलमा व्यवस्था मिलाएको छु, सबै सुविधा छ हजुर । केही चिन्ता गर्नुपर्दैन । महामारी भएको बेला भएर हो, नत्र त विदेश जाँदा पनि हुन्थ्यो । अब विदेश जाने खर्च यतै मिलाउनुपर्छ हजुर । वचत रकमको सदुपयोग गर्नुपर्छ,” उच्च अधिकारी चिप्लो घस्दै थिए ।

“त्यो सब मिलाउने काम तपाईँको । पछि म हस्ताक्षर गरुँला,” उहाँले भन्नुभयो ।