डा. पुष्करराज भट्ट

साँझ पर्नै लागेको थियो, पसलमा पहिले भन्दा कम मानिस आउन थालेका छन् । समयको प्रभावले यसो भएको हो कि ?
तिलकमानले देख्यो, त्यस ठाउँको जग्गा कारोबारी श्यामकाजी उसकै पसलतिर आइरहेछ ।
“आज त राम्रै कमाइ हुने जस्तो छ,” उसले मनमनै सोच्यो ।
“आउनुहोस् हजुर आउनुहोस् । स्वागत छ । आज त एक्लै आउनुभयो ?” उसले व्यापारिक औपचारिकता देखायो ।
“यस्तो कोरोना लागेको बेला धेरै मानिस भीडभाड गर्नुहुँदैन भाइ !” श्यामकाजी उपदेशक बन्यो ।
“के ल्याउँ हजुर ?” तिलकमानले आफ्नो परम्परागत शैलीमा भन्यो ।
“मेरो पहिलेको खान्की भाइलाई थाहा छँदैछ नि भाइलाई ! ल्याउँदै गर्, म भन्दै गरुँला,” श्यामकाजी निर्धक्क देखियो ।
नसाको प्रभावसँगै श्यामकाजीको आवाज अझ चर्को हुँदै गयो ।
“घरजग्गा किन्ने विचार छ, भाइ ?” श्यामकाजी आफ्नो व्यवसायिक कामसँग सम्बन्धित भएर सोध्यो ।
“अहिले पैसा नै छैन दाइ । कहाँबाट किन्नु ? यही पसल चलाउन गाह्रो हुन थालिसक्यो,” तिलकमान निरीह देखियो ।
“अहिले घरजग्गा सस्तो भएको छ । कारोबारी सब ऋणमा डुबेका छन् । बैँकको ऋण तिर्न सकेका छैनन् । सस्तोमा बेचिरहेका छन् । अब याँ प्राण बचाउन गाह्रो भएका बेला कोही घरबाहिर निस्केका छैनन् ? कसले किन्छ जग्गा ? कसले किन्छ घर ?” श्यामकाजी काफै बड्बडाइरहेछ ।
“म आज पैसा बोकेर आएन भाइ । आजभोलि कारोबार मन्द छ । यसो लेख्दै गर्नु है त?” यसो भन्दै ऊ पसलबाट बाहिरियो । तिलकमान आफ्नो खाता पल्टाउन थाल्यो ।