एकजना हितैषी हुनुहुन्छ । प्रेमपूर्वक बिहान बिहानै फोन गर्नुहुन्छ, बिहान पाँच बजे नै । वहाँ नेपालको समय चलाउनु हुन्छ जुन मनासिब हो ।

“नमस्कार प्रमोदजी ।”

आाजकल प्रविधिले गर्दा सजिलो भएको छ । सुतिसुती फोन उठाउन मिल्छ, त्यो पनि अन्तर्राष्ट्रिय कल, सित्तैमा । उहिले भएको भए ‘आवा’को हावा आउँथ्यो वा काकाले पल्लो घरबाट ‘प्रमोद फोन आयो’ भनेर ठूलो स्वरले बोलाउनु पर्थ्यो । घरमा फोन हुनेहरूको मान नै अर्कै हुन्थ्यो ।

“उठेकै छैन, उठ्दैछु । बल्ल बिहानको पाँच बज्यो ।”

“यता त साँझको ६ बज्यो । भिडियो कल गरौँ न ।”

“कल गर्न मिल्दैन । तनहूँतिर त झगडा गर्नुलाई कल गर्ने भन्छन्,” म जिस्किन खोज्छु र थप्छु, “अझ खाटबाट उठेको छैन ।”

उता साथी ठाँटिएर, टोपी लगाएर, भिडियो फिलिममा नै खेलुँलाजस्ता भएर बसेका रहेछन् । वहाँ मेरा ‘पासा दाइ’ हुन् । उमेरले दाइ, व्यवहारमा पासा ।

प्रमोद अमात्य

प्रत्येक पल्टको कुराकानीमा वहाँको एउटै आग्रह हुन्छ, “अब तपाईंले किताब निकाल्न पर्‍यो, अलिअलि खर्चको मुख हेर्न हुन्न ।”

कुरा सही हो । मैले खर्च मने, पैसाको मुख हेरेको हैन, हेरेकै छैन । मेरा मित्र राम आचार्यजीले भन्नुभए जस्तै मैले पनि पैसाको मुख नदेखेको धेरै भयो । दाल, चामल, चिनी, तरकारी आदि किन्न जाने किराना पसल (ग्रोसरी सप)ले आजकल प्लास्टिकको टुक्रा चलाउन थालेको छ । अझ यो कोरोनाको महामारीमा त फोनबाटै सामान मगायो, फोनमा नै पैसा तिर्‍यो टन्टै साफ । अरू मगाउन र किन्न पनि त्यही प्लास्टिकको टुक्रा घोट्यो सकियो । पैसाको मुख नहेरेको धेरै समय भैसक्यो । त्यसैले पैसाको मुख हेरेकै हैन, हेरेकै छैन ।

तर वहाँको किताब निकाल भन्ने आग्रह भने मनासिब हो । मेरा धेरै साथीभाइहरूले किताब निकाली सके । म भने फुटकर रचना यताउता छपाएर चित्त बुझाउँदै बसेको छु । यसरी छपाउँदा पनि पत्रिकाका साथीहरूले मेरो परिचय माग्नु हुन्छ । लाइसेन्स्ड प्रोफेशनल इन्जिनियर हुँ, आठ घण्टा र पाँच घण्टाको लामो जाँच पास गरेको छु, प्रमाणपत्र छ भनेर भएन । कतिवटा साहित्यिक कृतिहरू प्रकाशित छ ? भनेर सोध्नु हुन्छ र पो त फसाद ! न धेरै मुक्तक, न कविता, न कथा नै लेखियो किताब छपाउन पुग्ने गरी । अलिअलि ‘शुक्रबारे गन्थन’ लेखियो, अनि त्यही मध्येबाट केही पत्रिकामा छपाइयो, त्यति त हो । मेरो दराजमा धेरै किताबहरू छन् तर आफ्नो नामको मात्र छैन । खसखस त्यसको मात्र हो ।

अहिले यसो विचार गर्छु त्यही गन्थन भए पनि छपाउँ कि कसो ? यो विचार पहिले पनि नआएको त हैन- आएको हो, काम पनि भएको हो तर काम पूरा हुन सकेको छैन । यो किताब छपाउने काम सजिलो कहाँ रहेछ र ! पहिले प्रकाशक भेट्टाउन गाह्राे । ठूला प्रकाशकसम्म आफ्नो पहुँच नहुने । यसो सुत्र लगाएर प्रकाशक जुराए पनि प्रकाशकको आश्वासनमात्र भेटिने । गाह्रो पो रहेछ त किताब निकाल्ने काम । यसो सहयोग गर्छ कि जस्ता प्रकाशकहरूले अप्ठेरा प्रश्नहरू सोध्ने, जस्तै-

‘तपाईंको किताब कति पेज जति हुन्छ?’

यस्तो प्रश्नले म ट्वाँ पर्छु । के लेख्नु भयो, कस्तो लेख्नु भयो ? सोध्दैनन्; किताबको स्तर जाँच्न खोज्दैनन् । अझ अर्को प्रश्न पनि थप्छन्-

‘कतिसम्म खर्च गर्नुहुन्छ?’ अनि त्यसमा टिप्पणी पनि जोड्छन्-

‘आजकाल किताब पढ्ने नै भेटिन्न ! किताब बिक्दै बिक्दैन ‘

‘ए राता मकै !’  किताब पढ्ने नै छैनन् भने, किताब किन निकाल्छु भन्नू ? किताब पसल र प्रकाशन गृह किन चलाउनु ? मैले नबुझेको कुरा के ! अनि फेरि खर्च गर्न तयार भए जे पनि छाप्छु जस्तो पनि गर्नु ! यस्तो जटिल कुरा, बुझ्नै कठिन क्या !

फेरि सोच्छु, आफैँ निकालौँ कि कसो, आफैँ लेखक, आफैँ सम्पादक, प्रकाशकमा भने श्रीमतीजीको नाम राख्न पर्ला । श्रीमतीजी पनि खुसी हुन्छिन्, अनि त सब टन्टै साफ । कत्ति राम्रा लेखकहरूले पनि त शुरू शुरूमा आफैले किताब प्रकाशन गरेको धेरै उदाहरणहरू छ । तर फेरि सोच्छु, छापेर बेच्ने कता ? क-कस्लाई मेरो किताब किनिदिनुस् न भन्दै हिँड्नु ! सित्तै दिउँ, पक्कै पनि पढ्दैनन् । फेरि किताब भिडाउला भनेर साथीभाइहरू तर्केर हिँड्लान् ! अँध्यारो चिसो छिँडीतिर थन्क्याएर राख्न यता अमेरिकामा छिंडी पनि छैन । तनावै पो भयो त! के गर्नुपर्ला, यसो उपाय बताउँ त पासा !