खुट्टा लरबराउँदै घरमा छिरेको लोग्नेलाई देखेर स्वास्नीले आक्रोश पोखी, “हैन, कति खान सकेको हो, यो झोल पनि ? लबस्तरोले दिउँसै धोकेर पो मरेछ । छि ! कसैले देखे भने नि के भन्लान् ?”

उसले ठाडै जवाफ दियो, “हैन, खाएँ त आफ्नै बाउको खाएँ । तँलाई केको टाउको दुख्यो हँ ?”

सम्झाउने लवजमा ऊ बोली, “घरमा जवान छोरी, बिहेको लायक भाकी छे । उसको मनोविज्ञानमा कस्तो असर पर्ला ? अलिकति पनि सोच्नु पर्दैन ?”

ऊ दलानमै डङ्ग्रङ्ग लडेर बरबरायो, “घरमा आयो कि जहिले कचकच मात्रै गर्छे । आउन नि मनै लाग्दैन । के गर्नु ?”

“तिम्रो चालामाला देखेर छोरी बाहिर निस्किन पनि मान्न छाडिसकी । बाहिर निस्कियो कि जँड्याहाको छोरी भन्छन् रे ! घरको इज्जत कहाँ पुगिसक्यो ? खान, लाउन पनि मैले नै हाड घोट्नु पर्ने भयो । हरे ! मेरो भाग्य !” ऊ गनगनाउन थाली ।

ऊ जुरुक्क उठ्यो र ठूलो स्वर गर्‍यो, “नाथे, त्यसै ठूली भएकी छे । खान, लाउन पाकै छस् क्यारे ! तिमीहरूलाई सबै चीज पुर्‍याएकै छु । त्यसै जान्ने हुँदी रहिछे बडा !”

उसले उदास स्वरमा भनी, “कोही माग्न आए भने पनि तपाईंको यो लतले छोरीको विवाहमा वाधा पुर्‍याउँछ कि भनेर अत्यास लागेको छ । आफ्नो जिम्मेवारी त बुझ्नु पर्‍यो नि !”

ऊ जङ्गियो, “अरूका स्वास्नीले लोग्नेलाई कति माया गर्छन् । तँ एउटी चाहिँ मलाई देख्यो कि बिग्रिएको रेडियो झैं जतिखेर पनि क्यारक्यार क्यारक्यार गर्न जान्या छेस् । होइन ?”

राम काका कराउँदै प्रवेश गरे, “हैन, बाहिरै बसेर जोईपोइ के को गन्थन हो ? छोरीलाई केटोको कुरो लिएर म आएको, बिहे गर्ने हो नि ? के छ, बिचार ?”

छोरी चाहिंले आत्तिंदै सोधी, “काका, केटाको रक्सी पिउने लत त छैन नि ? अलि राम्रोसँग बुझ्नू है !”