उपेन राज चित्रकार

म (चुरोटलाई भन्दै) – तँ पनि आगो, म पनि आगो, हेरुम् कसले कसलाई सल्काउँदो रहेछ।
लाइटर बाल्दै( ट्याक_ ट्याक) , लामो सर्को अनि रिहाई धुवाँका बादल …खैर! अहिले त, म तँलाई सल्काउँदैछु । अर्को सर्को..

चुरोट (मलाई सुनाउँदै)- हो, अहिले तँ मलाई सल्काउँदै छस् तर विगत चौध वर्षदेखि म पनि तँलाई सल्काउँदैछु, भित्रभित्रै ।

(आफ्नो फेरि एउटा पतन हेर्दै खित्का छोड्छ ), निभ्छ।

लाइटर- (कुटिल हाँसो) मुर्खहरु, तँ दुइटैलाई सिध्याउने म मात्र हो।

म- (अर्को एक खिल्ली ओठमा च्याप्दै)
(ट्याक् ट्याक्), रिसले हुत्याउँदै, — अघि भर्खर किनेको साला बिग्रेको परेछ।

सानो विष्फोट…..लाइटरले अन्तिम साँस फेर्छ। अनि मलाई गाली दिन्छ… मतलबी, स्वार्थी… ****का वाहन

चुरोट आफू फेरि सल्किनु नपरेकोमा खुसी छ तर मलाई भित्रभित्रै सल्काउनु नपाएकोमा दु:खी।

म छेवैको मान्छेको नजिक पुग्दै सोध्छु, ”दाइ लाइटर छ?”

चुरोट फेरि दङ्ग पर्छ।