होइन ! यी गाउँलेहरुलाई के भएको हो ? मुखियाले आफ्ना सहयोगीतिर कान थाप्दै सोधे ।
खै हजुर ! यी पाखेहरुलाई केको उन्मात लागेको हो ? एउटा चौकीदारको जयजयकार गर्दै हिँडेका छन् । सहयोगीले झन् सन्किदै प्रश्न उठायो । हाम्रो चौकीदार भएर हाम्रो कुरा नटेर्ने ? केही काम लगायो भने यो त मिल्दैन हजुर पो भन्छ त ? यसलाई तुरन्त चौकिदारीबाट हटाउनु पर्छ । सहयोगीले मुखियालाई इशारा भाव गर्दै भन्यो ।
तर यसले काम त राम्रै गरे जस्तो लाग्छ नि ? हाम्रो गाउँ सधैँ हराभरा उज्यालो बनाउन सहयोग गरेको छ ? सबै काम समयमै सकेजस्तो लाग्छ ? हाम्रा खबरहरु गाउँलेलाई दिएजस्तो लाग्छ ? आफूले गर्न मिल्ने कामहरू कसैको उक्साहटमा नलागीकनै गरेको जस्तो देख्छु त म त ? फेरि मुखियाले धेरै प्रश्नको माला उने । गाउँमा चोरी पनि त छैन नि आजकल ? सबैले कुलोपानी बराबर पाएका छन् रे त ? हैन गाउँलेहरुको कुरा ठीक त हैन ? सहयोगीलाई बोल्न नदिई फेरि प्रश्नको संख्या बढ़ाए मुखियाले ।
यी अबुझ पाखेहरूले उसलाई उकासे हजुर ! पल्लो गाउँका ठूलाठूला व्यापारीहरु हाम्रो गाउँमा व्यापार गर्न आउने बाटो छेक्यो यसले ! कोही ठूलो उत्साहका साथ आयो भने यो त यही उत्पादन छ, चाहिँदैन गाउँमा भन्छ ऊ ! सबै गाउँलेलाई आफ्नै खेतबारीको उत्पादन खानुपर्छ भन्छ रे हजुर ? हेर्नुस् त यसको यत्रो हिम्मत ? अब हाम्रो के काम भो हजुर ? सहयोगीले आँखा राताराता पार्दै मुखियालाई बिन्तिभाव गर्यो ।
यो चौकीदारले गर्दा हामीलाई ज्युज्यु गर्ने गाउँले पनि घटे हजुर ! फेरि थप्यो सहयोगीले । ल यसको बारेमा सोच्नु पर्ने भो ? मुखियाले योजना बुन्न लागे ।
चौकीदारलाई चोरीको आरोप लगाए । गाउँलेहरु कसैले मानेनन् । कुरा सेलायो ।
उसलाई हटाउन नियम कानुन पल्टाइयो । केही काम लागेन । चौकीदार आफूलाई तोकेको समयसम्म गाउँमै निःस्वार्थ रुपमा सेवा गरेर कामबाट अवकाश लियो । यस्तो चौकीदार कहिल्यै पाइन्न ! गाउँलेले गुनासो गरे । उसलाई फेरि चौकीदारीमै नियुक्ति गर्नुपर्छ । सबै गाउँलेको एक स्वर भयो । परपर गाउँसम्म उसको जयजयकार भयो । उसको जयजयकारमा मुखिया रुष्ट थिए ।
यो साल पनि गाउँमा राम्रो काम गर्ने गाउँलेलाई पुरस्कार दिने कार्यक्रम मुखियाले राखेँ । सबै गाउँलेले चौकीदारले पुरस्कार पाउनेमा निश्चित थिए । मुखियाका अरौटे भरौटेले पुरस्कार थाप्दा चौकीदारले पाएन । गाउँलेहरु साह्रै रुष्ट देखिए ।
मुखियाको विरोधमा नारा-जुलुस लगाए तर मुखियाको अगाडि केही लागेन ।
अब अर्को पटक मुखिया छान्दा यस्को हिसाब-किताब हुन्छ ! गाउँलेहरु मुर्मुरिँदै सभाहलबाट बाहिरिए । चौकीदार अझै सधैँझैँ हँसिलो मुद्रामा देखिन्थ्यो ।
टोखा नपा ३, काठमाडौँ
हाल: धनकुटा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।