महानन्द ढकाल

विद्यार्थी संगठनहरुको बीचमा छलफल जारी थियो । वार्तालापमा चर्काचर्की चलिरहेको थियो ।

एक जना विद्यार्थी– शिक्षकहरु समयको ख्याल गर्दैनन् ।

अर्को विद्यार्थी– विद्यार्थीहरुलाई अनावश्यक दबाबमा राख्छन् ।

अर्को विद्यार्थी– अनुशासनको पाठ सिकाउन खोज्छन्, आफू अनुशासनमा बस्दैनन् ।

अर्को विद्यार्थी– घरको रिस विद्यार्थीमाथि पोख्छन् ।

अर्को विद्यार्थी– शौचालय र पुस्तकालयको व्यवस्थापनमा ख्याल गर्दैनन् ।

गुनासाहरुको चाङ लाग्यो । आक्रोशले सीमा नाघ्यो ।

असहमतिका बुँदा तयारी गरी शैक्षिक प्रशासनलाई बुझाउने, कमजोरी सुधार गर्ने प्रतिबद्धता नजनाए धर्ना बस्ने, ताला ठोक्ने र पठनपाठन ठप्प पारी आन्दोलनमा उत्रने निर्णय भयो ।

… … … … … … …

अभिभावकको भेला जारी थियो । गुनासाहरुको व्यवस्थापन गर्न हम्मे-हम्मे पर्दै थियो । पटक-पटक भनाभन भयो । हात हालाहाल होलाजस्तो भयो । संयमता अपनाइयो । धन्न अप्रिय घटना घटेन ।

गुनासाहरुको चाङ लाग्यो । शिक्षकहरुले मनपरि गरेको, कोचिङ कक्षालाई महत्त्व दिएको, पठनपाठन नियमित नगरेको, विभिन्न बहानामा आर्थिक भार पारेको, विद्यार्थीहरुलाई अनुशासनमा राख्न नसकेको, विद्यार्थीहरुलाई कुनै सुविधा नदिएको, अभिभावकलाई महत्त्व नदिएको आदिआदि ।

पहिलो निर्णय लेख्न नपाउँदै झमक्क रात पर्यो । बत्ती बालियो र निर्णय लेखियो ।

१. शिक्षकहरुले विद्यार्थीहरुको पूर्ण जिम्मेवारी लिनुपर्ने, ट्युसन कोचिङ पढाउन नपाउने, अनावश्यक शुल्क उठाउन नपाउने, विद्यार्थीहरुलाई विभिन्न सुविधाहरु दिनुपर्ने, शिक्षकले बिदा लिन नपाउने ।

२. शिक्षकहरुप्रति धेरै गुनासा आएकाले शिक्षकहरुको ध्यानाकर्षण गर्ने । एक महिनाभित्र परिवर्तन नआएमा विद्यालय प्रशासनमा ताला लगाई पठनपाठन ठप्प पारी आन्दोलनमा उत्रने निर्णय भयो ।

… … … … … … …

१२ बजेदेखि सुरु भएको शिक्षकहरुको बैठक साढे ६ बजे मात्रै सकियो । छलफलमा त्रिपक्षीय विषयवस्तुको समीक्षा गरियो । विद्यार्थी, अभिभावक र शिक्षा विभागप्रति असन्तुष्ट व्यक्त गरियो । पछिल्लो समयका विद्यार्थीहरु अनुशासनहीन हुँदै गएको, अभिभावकहरुले शिक्षकहरुलाई सम्मान गर्न छोडेको, शिक्षा विभाग, मन्त्रालय तथा सरकारले शिक्षकहरुलाई सौतेनी व्यवहार गरेको आदि निष्कर्षसहित तपसिल बमोजिमका निर्णय भयो ।

१. विद्यार्थीहरुलाई अनुशासित बनाउन व्यक्तिगत सरसफाइमा ध्यान दिने । कक्षाकोठा बाहिर समूह-समूह बनाएर हिँड्ने बानीलाई निस्तेज पार्ने, पोशाकमा आइरन नलगाएकोलाई घर पठाइदिने, कपाल लामो पाल्ने र बाला मुन्द्रा लगाउनेलाई विद्यार्थीहरुकै माझमा राखेर बाला मुन्द्रा खोसी चारपाटा मुन्डन गरिदिने, प्रतिकार गर्न खोज्नेलाई विद्यालयबाट निष्कासन गरिदिने ।

२. अभिभावकहरुलाई मासिक रुपमा विद्यालय आउन बाध्य पार्ने, कोचिङ शुल्क र शिक्षा विकास शुल्क समय पूर्व भुक्तानि गर्न लगाउने, विद्यार्थीहरुलाई अनिवार्य होस्टलमा बस्न लगाउने, घरको काममा लगाउन नपाउने निर्देशन दिने ।

३. शिक्षा विभागले उपयुक्त नीति बनाउन नसकेको, सेवा सुविधा दिन नसकेको, शिक्षकको हकहित विरुद्धमा लागेको, ज्यू हजुर गर्नेहरुलाई महत्त्व दिने गरेको, आफ्ना र अर्काका भनी पर्गेल्ने गरेकोले विभागको ध्यानाकर्षण गर्ने, सुनाइ नभएमा पठनपाठन ठप्प पारी आन्दोलनमा उत्रने निर्णय भयो ।

… … … … … … …

गत एक हप्ताभित्र विभिन्न स्थानमा भएका निर्णयहरु अध्ययन गरेर शिक्षा विभागले बैठक बस्ने तयारी गर्दै थियो । अब विभागको गुनासो मन्त्रालय वा आफ्ना मातहतका निकाय कता फर्कन्छ हेर्न बाँकी थियो ।