साँझको समाचार आउने बेला भएको थियो । टेलिभिजन खोलेँ । टेलिभिजनमा कोरोना सम्बन्धित समाचार आइरहेको थियो । कोरोना सम्बन्धित उच्चस्तरीय बैठक आज बसेको खबर आइरहेको थियो । मन्त्री मास्क लगाउनु पर्ने आवश्यकता भएको विषयमा नै केन्द्रित थिए ।

मसँगै बसेर समाचार हेरिरहेकी सानी छोरीले भनिन्, “हेर्नुस् त बुवा ! मन्त्रीले माक्स नलगाएर भाषण गरिरहेका छन् ?”

ओहो ! मैले त ख्यालै गरेको रहेनछु । हो रहेछ ।

“मन्त्रीलाई कोरोना लाग्दैन र बुवा !” छोराले तत्काल सोधिहाल्यो ।

“रोग त सबलाई लाग्न सक्छ । यसले सानो ठूलो, धनी गरिब केही भन्दैन । विदेशमा देशका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलाई कोरोना लाग्यो । छिमेकी देश भारतका पूर्व राष्ट्रपतिको मृत्यु कोरोनाबाटै भयो,” मैले भनेँ ।

“यो कोरोना त धेरै शक्तिशाली रहेछ,” छोराले चिन्ता व्यक्त गर्दै भन्यो, “हाम्रो देशको मन्त्रीले किन आफ्नो ख्याल नगरेको होला ।”

केही दिनमा खबर आयो, “कोरोनाका कारण मन्त्री आइसोलुसनमा ।”

समाचार सुनेर छोरा भनिरहेको थियो, “मेरो मास्क खोई कता छ ? अब त कुनै बेला पनि छोड्नु भएन यसलाई ।”