यसै पनि सरकारले शहर घोषणा गरेको यो गाउँमा अधिकांश वृद्धहरू भेटिन्छन् । युवाहरू भेटिए कि त तिनीहरू केही समयको लागि विदेशबाट बिदामा घर आएकाहरू, कि शहरबाट बिरामी बाआमा लिन या छोड्न आएकाहरू, कहिलेकाहीं एकान्त प्रेमालाप गर्नखोज्ने प्रेमिल जोडीहरू , तर अधिकांश युवा भेटिए बजारमा पुलिसले गाँजा तान्दा समात्छ कि भनेर कुना कन्दरा खोज्दै हिंडेका हरिलट्ठकहरू ।

घरमा काम नभएका र काम नदेख्नेहरू अगाडिको चियापसलमा चिया चुरोट खाँदै क्यारेम हान्दै थिए भने काम देख्ने तर गर्न नसक्नेहरू गतसाल नगरपालिकाले बनाइदिएको सिमेन्टको प्रतीक्षालयमा बसेर आफ्ना छोराबुहारीको कुरासँगै दिन काट्दै थिए ।

“यहाँको पिपलको रूख किन काट्या होलान् ?”   प्रतीक्षालय रहेको ठाउँको चौतारो सम्झिंदै गत महिना मात्रै अमेरिकाबाट छोराबुहारी आएर धूमधामले चौरासी पूजा सकाएका रमानन्दले भने ।

“हो त, नि ! उस बेला यो चौतारोमा कति शीतल हावा आउँथ्यो ।“ हपहपी गर्मीले आत्तिएर पसिना पुछ्दै अर्का वृद्धले भने ।

“युरोपतिर जतिसुकै विकास गर्दा पनि  पुराना  रूखबिरुवा फ्‍याँक्दा रहेनछन् यदि कतै फ्याँक्नुपर्ने भए त्यसको सट्टामा अर्को रूख तुरुन्तै रोपिहाल्दा रहेछन् । कतिना विकास गर्ने भएका !” अस्ति मात्रै युरोपमा नाति हेर्न पुगेका मानबहादुर काजीले गुनासो गरे ।

यस्तैमा धुलोले चिन्न नसकिने भएको एसीवाला गाडीबाट नगरप्रमुख झरेर सबैलाई नमस्कार भन्दै प्रतीक्षालयमा आइपुगे ।

प्रतीक्षालयमा रहेका वृद्धहरूलाई कम र प्रतीक्षालयको बनावटलाई बढी नियाल्दै उनले भने, “बाआमाहरू तपाईंहरू यो प्रतीक्षालयमा रमाइरहनुभएको छ नि !”

“खै बाबु ! रमाएको भन्नु कि के भन्नु ? यसो दिउँसो घरको एकलास मेटाउने थलो भएको छ । धुलो उस्तै गर्मी उस्तै, चौतारोमा जस्तो शीतलता कहाँ पाउनु ? गर्मी पनि आजभोलि पहिले भन्दा बढेको, खै बुढा-बुढी भएर हो कि !”  छोरो कतार हिंडेको अर्को महिना झगडा गरेर  बुहारी शहर झरेकी चन्द्रा आमैले गुनासो गरिन् ।

“हो बा, आमा हेर्नु न, ग्लोबल वार्मिङले गर्दा पहिले भन्दा अहिले निकै गर्मी बढेको छ । तर हामी विकास गर्न छाडिन्न । बाटो फराकिलो पार्ने बेलामा त्यो चौतारो फ्याँक्नुपर्‍यो । तर हामी बाटो पिच गर्ने बेला त्यसको बारेमा सोच्छौं म सधैँ हजुरहरूको आशीर्वाद पाउने काम गर्छु,” भन्दै  नगरप्रमुख अर्को कार्यक्रम भेट्नका लागि गाडीमा हुइँकिए ।

० ० ० ०

अर्को वर्ष त्यस ठाउँको बाटो पिच भयो । चौतारो भएको त्यस ठाउँमा ठूलो सिमेन्टको चौतारो बन्यो, अनि चौतारोको बीचमा बडेमानको पिपलको रूख,  त्यो पनि  छड सिमेन्टकै ।