“आत्थुथु…! यो जाडोले पनि मार्नै भयो यार !”

बिहान आठ बजे सिरकभित्र गुटुमुटु पर्दै मनिष क्यानडामा रहेको आफ्नो साथीसँग भिडियो कलमा बात मार्दै थियो ।

रमेशले उताबाट सोध्यो, “हो र त्यस्तो जाडो छ अहिले नेपालमा ? त्यही जाडोको खबर सुनाउन कल गरेको मलाई ?” ऊ जिस्कियो ।

“आम्मामा …! तँ यहाँ भएको भए थाहा पाउँथिस्, कस्तो जाडो छ भनेर ! उठेर मुख धुन जान त सकेको छैन । तँ चैँ त्यहाँ के गर्दैछस् नि ?” मनिषले साथीलाई सोध्यो ।

क्यानडाबाट रमेशले हाँस्दै सुझायो, “म त यहाँ काम गर्दैछु, अनि त्यस्तो हो भने जाडोको ओखती गर्नुपर्छ नि त ! कि थाहा छैन तँलाई जाडोको ओखती ?”

रमेशको बोली भुइँमा खस्न नपाउँदै मनिषले हाँस्दै जवाफ दियो, “किन थाहा नहुनु नि ! जाडोको ओखती भनेको रुई, दुई कि फुई त हो नि !”

रमेश खित्का छोडेर हाँस्यो, ऊ थप्दै गयो, “अब दुई हुनलाई बाउले बिहे गर्देका छैनन्, फुई भनेको अब आगो बाल्न कता जाऊँ ? त्यसैले यी रुईको सिरक भित्र त बसैकै छु नि !”

साथीको कुरा सुनेर रमेश अझै बढी खित्का छोडेर हाँस्न थाल्यो ।

मनिष बोल्यो, “ल किन हाँसेको यार ? झन् सही कुरा भन्दैछु तँलाई, तँ पो उता गइस् तँलाई आनन्दै भो !”

घरको छतमा जमेको हिउँ साबेलले फाल्दै गरेको रमेशले सोध्यो, “अनि अङ्कल अन्टी चाहिँ खोइ त ?”

मनिषले घरको झ्यालबाट बारीमा काम गर्दै गरेका आफ्नो बाउआमालाई ब्याक क्यामेरा खोलेर रमेशलाई देखाउँदै भन्यो, “ऊ त्यहाँ बारीमा काम गर्दै हुनुहुन्छ ।”

रमेशले घोच्यो, “अब बुझिस् नि, जाडोको ओखती  के रहेछ भनेर ! त्यता आफ्नो बाउआमालाई हेर अनि यता मलाई हेर् !”