हर्कबहादुर लामगाडे रोहित

बुढाथोकी कान्छा बिहानीपख घर तलतिर बाख्राको पाठो चराउँदै थिए। घर छेउको बाट-बाटै हुँदै ठूल्दाई काँधमा जुआ अनि जुआमाथि हलो राखेर उँधोतिर झर्दै थिए।

बुढाथोकी कान्छा बाख्रालाई किलोमा बाँधिसकेर पर जाँदै गरेका ठूल्दाइलाई सोध्छन्- “ठूले, हैन आज के भयो हौ, झन्नै दस वर्षपछि काँधमा हलो-जुआ बोकेको देख्दैछु त?”

ठूलेकान्छा मुसुक्क हाँस्दै भन्छन्, “सही देख्नु भयो काका, यो साल खेत गरूँ भनेर दस सालदेखि बाँझो खेत जोत्न भनेर खेततिर लागेको।”

बुढाथोकी कान्छा ठूले दाइको छेउ आउँदै भन्छन्, “लौ के भनेका ठूले, दुइटै छोरा देशको नामी कम्पनीमा जागीर गर्छन्, किन फेरि दुःख गर्न लागेको यो उमेरमा ?”

ठूलेकान्छा जुआ-हलो बिसाउँदै भन्छन्, “हुन त हो नि काका, यति सालसम्म छोराहरूले खेत गर्न दिएनन्, समय-समयमा पैसा घर पठाइदिए। हजुरलाई पनि थाहा नै छ, वर्तमानमा कोरोनाको संक्रमणले गर्दा सबै विश्व त्रासदमा छ। मजदूरदेखि लिएर उद्योग जगतको काम ठप्प भएको छ। सम्पूर्ण लकडाउन हुनाले खेतीपातीको आड़ नलिइकन जीवनयापन गर्न गार्हो हुनेरहेछ, यो परिस्थितिको आकँलन गर्दा। अब यै हप्ता दुइटै छोरा आउँदैछन्, अब सबै जनालाई खानु-पिउनुको लागि फेरि हलो-जुआ नबोकी भएन नि !”

बुढोथोकी कान्छा यति सुनेर टाउको हल्लाउदै भन्छन्, “हुन त कुरा त एकदम गहकिलो नै गरेउ है ठूले! तिमी खेततिर जाऊ, म घरतिर लाग्नु पर्यो ।”

चारहजारे, मणिपुर