साउने झरीले केही दिनदेखि आकाश रुवाइरहेको थियो । बिगुलको अन्तिम गर्जनले रात शुरू भएको संकेत गर्यो । सिपाही थकित शरीर लिएर आफ्नो बिस्तारामा पल्टियो । दिनभरको कठोर तालिम, परेड, र अनगिन्ती शारीरिक अभ्यासले उसका हातखुट्टा दुखेका थिए । मस्तिष्कको रणभूमिमा युद्ध तालिमका प्रतिबिम्बहरू घुमिरहेका थिए । आँखा बन्द गरेर निदाउने प्रयास गर्दै गर्दा दिउँसो लेखेको स्वैच्छिक अवकाशको (उपदान) निवेदन सरसरती पढ्यो ।
“खान्न यस्तो दुःखको जागीर !” उसले मनमनै गुनासो गर्यो र निदाउने प्रयास गर्यो ।
दिनभरको थकानले होला केही क्षणमै ऊ निदायो । मध्यरातको निस्तब्धतामा ब्यारेकमा एक्कासि गुन्जिएको साइरनले उसको निद्रा बिथोल्यो । ऊ झस्क्यो । झट्टै उठेर बर्दी लगायो ।
लगातारको वर्षापछि आएको बाढीले जनजीवन प्रभावित बनाएको खबर आयो । समेटिएको टोलीलाई उद्धार कार्यमा खटिने आदेश प्राप्त भयो । तयारी हालतमा राखिएका उद्धार सामग्री बोकेर ऊ ट्रकमा चढ्यो । मध्य तराईको सडक बाढीको उर्लंदो सतहले बिस्तारै छोपिरहेको थियो ।
केही पर पुगेपछि ट्रक अगाडि बढ्न सकेन । उसले लाइफ ज्याकेट लगायो र हिलो र बहावसँग जुध्दै मोटरबोटमा चढ्यो । अन्धकारको पर्दा चिर्दै हेलोजिन लाइटको उज्यालोले पानीको सतह छिचोल्दै अघि बढ्यो । केही पर, बाढीले आधा छोपिएको फुसको छानाबाट हृदयविदारक चिच्याहट आयो, “बचाउ ! बचाउ !”
झुपडी नजीक पुग्दा उसले देख्यो— एक महिला आफ्नो दुई सन्तानलाई छातीमा टाँस्दै छानामा च्यापिएकी थिइन् । पानीको उर्लंदो सतहले छाना बगाउनै लागेको थियो । ऊ सहितको टोलीले तत्काल ती महिला र बालबालिकालाई मोटरबोटमा राखेर सुरक्षित स्थानमा पुर्याए ।
मोटरबोटले किनार छोएपछि सिपाहीले ती महिला र उनका दुई बालकलाई सावधानीपूर्वक झार्यो । हिलोले लतपतिएको कपडा, र थकित अनुहार लिएर महिला मोटरबोटबाट ओर्लिइन् । उनका बालबालिकाको सानो अनुहारमा जीवित रहेको खुशी झल्किन थालिसकेको थियो ।
ती बेसहारा महिला र अबोध बालकका मुहारले उसलाई द्रवीभूत बनायो । ऊ स्तब्ध भयो । उसले आँखाबाट बगेका साउने झरीलाई रोक्न प्रयास गर्यो । गर्वले छाती ढक्क फुल्यो । ब्यारेक फर्किंदै गर्दा उसले मनन गर्यो सिपाहीको जागीर केवल जागीर मात्र होइन, यो त जनताको सुरक्षाको प्रतिज्ञा हो । उसले हिजो लेखेको स्वैच्छिक अवकाशको निवेदन च्यातेर मिल्कायो र जीवनलाई जनताका लागि समर्पण गर्ने संकल्प गर्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।