“अरेली काँडैले … च्वास्स च्वास्स …,”
साँझ ५:४५ बज्दै थियो । वरिपरि घुमेर उद्यानको फलैंचामा बस्नै लाग्दा दुइटी महिलाहरू पनि त्यहीँ आए । कसिलो सर्ट पाइन्टमा सजिएका उनीहरूले मोबाइलमा गीत घन्काए । बेपर्बाह नाचे । भिडियो खिचे । निथ्रुक्क भएपछि हामी नजिकैको फलैंचामा थ्याच्च बसे । पसिना पुछे । ऐना झिके, शृङ्गार गरे । पुनः सोही क्रम दोहोर्याए ।
“कति राम्रो पार्क हगि ?” थाकेर यथास्थानमा बस्न आएका उनीहरूसँग मैले बोल्ने बहाना झिकें ।
“यो भन्दा त बिपीको सालिक अघिल्तिर राम्रो छ नि ! त्यहाँ घुस्नै दिंदैनन् ।” एउटीले जवाफ फर्काइन् ।
“घुम्न आउनुभएको ?”
“अस्पतालमा के घुम्नु ?” लिपस्टिक लगाउँदै अर्की बोलिन् ।
“केका लागि त ?” मैले फेरि कोट्याएँ ।
“बिरामी कुर्न ।”
“नाच्दै, भिडियो खिच्दै हुनुहुन्छ । घुमफिर होला भनेको नि !”
“मौकामा चौका ! टिकटक पनि बनाइहालेको नि ! अनि तपैँहरू ?”
“यिनको उपचार भइराख्या’छ । एकछिन फ्रेश हुन निक्लेको । तपैँको को बिरामी नि ?” मैले पुनः सोधें ।
“ममी ।” ऐना हेर्दै दोस्रीले तुरुन्तै जवाफ फर्काइन् ।
“ए …, आमा पो ?”
“होइन ।”
“अनि को त ?” मैले आश्चर्य प्रकट गरें ।
“सासूमा ।” उनी सहजै बोलिन् ।
जिजीविषाका निम्ति मुगलानीयका सन्तानलाई के भन्नु ! सँगसाथमै रहेकाहरूको व्यवहार यस्तो छ । मनले खल्लो मान्यो । यद्यपि मैले रोगका बारेमा उनलाई फेरि सोधें, “क्यान्सरै त होला ?”
“फोर्थ स्टेज ।” रंग्याइएको कपालमाथि कालो चस्मा सिउरिंदै अंग्रेजी लवजमा अर्की बोलिन् ।
“निकैबेर भयो । उहाँलाई यसरी च्याट्टै छोड्न मिल्छ त ?”
अलिकति मन नपराए जस्तै गरी जवाफ दिइन्, “नन्द, आमाजूले रुङ्नुभा’छ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।