गुरुको स्वास्थ्यमा त्यस्तो खासै समस्या थिएन । बिहानसम्म सदा झैं शिष्यहरूसँग सत्सङ्गमा व्यस्त थिए । उता भान्छामा भोजनको तयारी हुँदैथियो, यता आफ्नो कोठामै ध्यानावस्थामा नै गुरुले  देह त्याग गरे ।

जीवनभर कसैको चित्त नदुखाएका गुरुले सक्दो अरूको भलो गरे । सधैं पढाइरहे- शरीर आत्माको लुगा मात्र हो, आत्मतत्त्व नै मूल कुरा हो, कुनै शरीर विशेषलाई ऊँच वा नीच नठान र त्यसमा मोह नगर ।

परमहंश कोटीका गुरुको वियोगमा सबैको मुहार मलिन थियो, नवअनुयायीहरू बलिन्द्र धारा आँसु बगाइरहेका थिए । आश्रममा बस्ने शिष्यहरू अन्तिम संस्कारको तयारीमा जुटे । गुरुको शवलाई पशुपति लैजाने  निर्णय भयो ।

त्यत्तिकैमा गुरुको निधनको खबर सुनेर हस्याङफस्याङ गर्दै एक अनुयायी आइपुगे । नेता अनुयायी भनेर चिनिने उनी सिधै शिष्यहरू भएका ठाउँमा गए । त्यहाँ एकछिन खुसुरपुसुर भयो । कुन चितामा गुरुको पार्थिव शरीर जलाउने भन्नेमा कुरो अड्किएछ । शिष्यहरू गुरुको विचार अनुसार आर्यघाट वा भष्मेश्वरघाटको कुनै चिता भए पनि फरक पर्दैन भन्नेमा थिए । गुरुले आफूहरूमध्ये कसैलाई यस विषयमा कुनै निर्देशन भएको थियो कि भनी शिष्यहरूले सोधखोज पनि गरे । सबैले यस बारेमा अनभिज्ञता जनाए ।

समाजमा गुरुको प्रतिष्ठालाई ध्यानमा राखी उनको दाहसंस्कार विशेष सम्मान सहित आर्यघाटको १ नं. चितामा हुनुपर्ने दलिल नेता अनुयायीले पेश गरे । उनले त्यसका लागि आफूले पहल गर्ने र सरकारी सम्मान दिलाउने कुरा पनि बताए । खल्तीबाट मोबाइल झिकेर एकैछिन भन्दै उनी छेवैको कोठामा पसे ।

१५ मिनेट जतिपछि नेता अनुयायी कोठाबाट निस्किए । प्रधान शिष्य भए ठाउँ पुगेर भने, ‘ल हजुर, सबै व्यवस्था भयो । आर्यघाटको १ नं. बूक भयो, सुरक्षाकर्मीले सजाउँदै छन् । फूलमाला सजित शववाहन उताबाट हिंडिसक्यो । हजुरहरूले कुनै चिन्ता लिनुपर्दैन, सबै म हेरिहाल्छु ।’

शिष्यगणले मुखामुख गरे ।

आत्मज्ञानका लागि प्रेरित गर्ने गुरुको शव फूलमालाको झाँकी एवं सरकारी सम्मान सहित आर्यघाटको १ नं. चितामा जल्न थाल्यो । छेउको सत्तलमा बसिरहेका केही भलाद्मीजन यो तामझामको कुरा काट्दै थिए । सुन्ने शिष्यहरूको हृदय कटक्क भयो, नेता अनुयायी आफ्नो प्रभाव प्रयोग गरी सम्मानपूर्वक गुरुको दाहसंस्कार गर्न पाएकोमा सन्तुष्ट थिए ।