भरखर सरकारी जागीरमा प्रवेश गरेको थिएँ । यस्तै एक महीना मुश्किलले कटेको हुनुपर्छ मेरो जागीर अवधि ।

कार्यालयको कामको सिलसिलामा लाजिम्पाटको चार तारे होटेलमा जानुपर्ने भयो । मैले मोटरसाइकल चलाउन सिकेको थिइनँ । कार्यालयमा एक जना सिनियर दिदी हुनुहुन्थ्यो । उहाँ बडो शालीन र भद्र हुनुहुन्थ्यो । अविवाहित उहाँलाई म्याडमको साटो सधैँ दिदी नै भनेर सम्बोधन गरें । उहाँलाई जागीरको हाकिम भन्दा पनि अभिभावकको रूपमा हेरें ।

उहाँले मलाई होटलको मिटिङमा जान अह्राउनु भयो । मैले सोचेँ बस चढेर जानु पर्ने होला । म निस्किनै लाग्दा उहाँले “भाइ मोटरसाइकलमा जानुहोस् । कृष्णले तपाईंलाई लिएर जान्छ” भन्नु भयो । कृष्ण कार्यालय सहयोगी रहेछन् । मोटरसाइकल चलाउन नजान्ने मानिसलाई कार्यालयको कामले बाहिर जानुपर्दा मोटरसाइकलमा पुर्‍याउने गर्दा रहेछन् ।

कृष्ण अघिअघि म पछिपछि कार्यालयबाट बाहिरियौं । मोटरसाइकल पार्किङमा पुग्यौं । कृष्णले स्टार्ट गरे । संकेत गरेअनुसार पछाडि बसें । कृष्णले बाटोभरी गफ गर्दैगए । म केही बोलिनँ ।

– तपाईंहरू पढेर हाकिम त बन्नुभयो तर तपाईंहरूलाई केही थाहा छैन । तपाईंहरूसँग टिभी पनि हुँदैन । कोठामा बस्नेहरूसँग कहाँ टिभी हुनु ? टिभी किन्ने पैसा पनि त हुनुपर्‍यो । गाउँबाट आउनेहरूसँग कहाँ हुन्छ र पैसा ? मैले तपाईँहरू जस्ता गाउँबाट आउनेहरूलाई पुरानो टिभी बेचेर नौलो किन्ने गर्‍याछु । तपाईंलाई पनि चाहियो भने भन्नुहोला । हुन त भरखर जागीर खाएको मान्छेसँग थोत्रो टिभी किन्ने पैसा पनि छैन होला । केही महीनापछि जोगाएर किन्ने बेला मलाई भन्नुहोला । तपाईंहरू नयाँ किन्न सक्नुहुन्न,” ।

कलङ्कीबाट दरबार मार्गसम्म उहाँले भनेका मध्ये मेरा कानले पछाडिबाट सुनेका कुरा थिए यी ।

दरबारमार्ग कट्नैलाग्दा उहाँले फेरि भन्नुभयो, “हुन त तपाईंलाई थाहा छैन, यो  कार्यालयको मोटरसाइकल हो त्यसैले मैले यसरी गियर चेन्ज गरें ।”

घ्याररर्र आवाज आयो ।

“मेरो आफ्नो मोटरसाइकल भएको भए यसरी चेन्ज गर्थें र ?”

उनले भनेका कुरा मैले केही बुझेको थिइनँ ।

– – – –

समय बित्यो । तीनचार वर्षपछि होला मैले मोटर साइकल चलाउन सिकें । बल्ल थाहा पाएँ । गियर चेन्ज गर्दा क्लच अनिवार्य समात्नुपर्ने रहेछ । क्लच नसमाती गियर चेन्ज गर्दा त्यस्तो आवाज आउने रहेछ । जबजब म कृष्णलाई सम्झन्छु । झस्किन्छु । उसको याद र नियत दुवैले मलाई एकैपटक हिर्काउँछ दिमागमा ।

“तपाईंलाई मोटरसाइकल चलाउन आउँदैन ।”  यो वाक्य कहिल्यै बिर्सन सक्दिनँ ।