“यहाँका मान्छे त कामलाई माया गर्छन् मामा । कोही ठूलो मान्छे पल्टिदैन । मालिक पनि कामदारसँगै काम गर्छ । सुरुसुरुमा त यस्ता पनि मालिक हुन्छन् भन्ने लाग्थ्यो मलाई । विश्वविद्यालयको उपल्लो डिग्री बोकेर आएको मलाई मसिना काम गर्न साह्रै दकच लाग्थ्यो । अहिले लाग्छ – काम भनेको काम हो, भगवान् हो ।”

“अर्को कुरा मामा, यहाँको सफाइ प्रसंशालायक छ । कसैले सार्वजनिक ठाउँमा फोहोर गर्दैन, हरेकले आफ्नो फोहोर आफैं व्यवस्थापन गर्छ । कतै हिंड्दा फोहोर देखे जोकोही पनि त्यसको व्यवस्थापन गर्न अग्रसर हुन्छ । प्रधानमन्त्री पनि सामान्य कपडामा देखिन्छन् । कसैमा ढोङ छैन । यहाँ प्रत्येक नागरिक आफ्नो कर्तव्यनिर्वाह गर्छ, गुनासो गर्दैन सरकारसँग । यहाँको सरकार त जनताका साहु होइनन्, सेवक हुन् ।”

“मामा देश सोचले बन्दोरहेछ । यहाँ सोच छ सबैमा । हरेकलाई म पनि देशको समृद्धिको आधार हुँ भन्ने छ । आफ्नै पौरखमा बाँच्नुपर्छ भन्ने हरनागरिकमा चेतना छ । यहाँ कतिपय यस्ता ठाउँ छन् मामा- बजार छ, सामानको मूल्यसूची छ, खुत्रुकेजस्तै पैसा राख्ने ठाउँ छ तर बेच्ने व्यापारी देखिन्न । चाहिने सामानको मूल्य खुत्रुकेमा खसाल र सामान लैजाऊ । नैतिकता हरेकको मानसिकतामा छ । हामी रामको मूर्तिपूजा गर्छौ मामा तर यहाँ त रामराज्य छ ।”

“क्षमताअनुसार कमाऊ र कमाइअनुसार मनग्गे ट्याक्स पनि तिर – यहाँको सरकार यसै भन्छ । धेरै ट्याक्स तिर्नुपर्दा मलाई लाग्थ्यो – ‘सबै कुरा ठिकै हो तर ट्याक्सको मामलामा यहाँको सरकार निर्मम छ ।’ तर मामा, मैले यो वैश्विक महामारीमा बुझेँ– कोभिडले संसार थलिंदा यहाँका मानिस पनि थलिएका थिए, सबै ठप्प हुँदा राज्यको अभिभावकीय भूमिका देखेर म छक्क परेँ । राज्य भन्छ – ‘ए के पुगेको छैन भन ?’ सोधेर मात्र दायित्व पूरा भएको सम्झिने हाम्रोजस्तो सरकार होइन मामा यहाँको सरकार । बोलेको पुर्याउँछ पनि । ‘सकेको बेला ट्याक्स तिर नसक्दा तिमीलाई राज्यले हेर्छ ।’ यहाँको सरकार यति धेरै विवेकी छ मामा । स्वास्थ्य र शिक्षामा यहाँको सरकारले पूरै जिम्मेवारी लिन्छ अनि किन हुन्छ र मामा भ्रष्टाचार !”

“किन झिँजो मान्नुभो मामा सुन्नुस् न मेरा कुरा । त्यताका मानिसलाई पनि सुनाउन काम लाग्छ ।”

“मामा, तपाईं त कथा लेख्नुहुन्छ । कथाभित्र कल्पनाका तरेलीहरू हुन्छन् तर धरोधर्म मामा यो कथा होइन ।”