दर्के पानी पर्‍यो र निहिन भिज्यो । परिवारमा जम्मा दुई जना बूढा र बूढी । धान काट्ने मान्छे नपाएपछि उनीहरूले नै आज दिउँसो काटेका थिए धान । त्यो खेतमै थियो । त्यही भिजाइदियो पानीले ।

रोप्ने बेलामा पनि त्यस्तै सास्ती । बेलामा पानी परेन । बीउ हुर्किएर बियाडमै पोटाउला जस्तो भएपछि बर्साद नपर्खी जसोतसो बीउ टाँसेका थिए माटामा । पछि पानी पर्‍यो र धेरै दिनसम्म परिरह्यो । घरअगाडिको खोल्साले डिल नाघेको थाहा थिएन । यस पटक खोल्साको हिलो लेदो दलानमै उक्लियो । पानी धेरै परेकाले धान भने राम्रै भयो । राम्रै फल्यो पनि ।

धनमान काका आफ्नो जमानाका नामी गीताङ्गे । मादल पनि अनेक तालमा बजाउँथे । गीता काकी दोहोरीमा बिछट्टै च्याम्पियन । लय र ताल टिपेर नाच्ने पनि । दोहोरी गाएरै गरेको थियो यस जोडीले घरजम ।

निहिनै भिजेपछि धान खेतमै उम्रिने भयो भन्ने चिन्ता दुवैलाई थियो ! त्यसमाथि धनमान काकाको मनमा दलानमा उक्लेको लेदो, आजको बर्साद र धान रोप्दाको सास्ती धेरै बेर खेलिरह्यो । उनले यी सबैलाई गाँसेर बुझ्न खोजे । तर किन यसरी बेसिजनमा पानी पर्छ र औधी पर्छ भन्ने कुरा उनले प्रस्ट्याउन सक्ने कुरा थिएन ।

अगेनाको डिलमा काठको पिरा ओछ्याए र त्यसमा बस्दै खुइय सुस्केरा हालेर धनमान काकाले काकीलाई सम्बोधन गरेर भने, ‘लय बिग्रियो बूढी ! अब दुःख हुन्छ ।’

केही गमेर काकाले फेरि भने, ‘प्रकृतिको लय बिग्रिएपछि यस्तै हुन्छ, यस्तै यस्तै हुन्छ ।’