हरिचन्द्र ढकाल

आजको कार्यक्रम विशेष हुनुपर्छ ! शिवदेवले आफ्नो निर्वाचन क्षेत्रको प्रमुख कार्यकर्तालाई सधैँ आदेश दिन्थे ।

शिवदेव आफ्नो जिल्लामा हुने हरेकजसो कार्यक्रममा आफैँ उपस्थित भई कार्यकर्तालाई नेतृत्व गर्ने, नियन्त्रण गर्ने र अगुवाई गर्ने गर्दथे । उनी जिल्लामा आउँदा प्रशासनलाई टाउको दुखाईको विषय बन्थ्यो । सदाझैँ आज पनि शिवदेवले भाषणमा कार्यकर्तालाई सम्झाए, ‘अरुका झ्यालका शिशाहरु तोडफोड नगर्नुस् । बाटोघाटोमा राखिएका गाडी किन जलाउने ? प्रहरी पनि हाम्रै दाजुभाइ हुन् । यिनलाई ढुंगामुढा किन गर्ने ? बजारका सटरहरु बन्द गर्दै हिँड्ने पनि हाम्रो काम हैन । हामी आफ्नो आवाज माथिसम्म जसरी पनि पुर्याउन तल्लिन हुनुपर्छ ।’

उनले चर्को चर्को भाषण गर्दथे । कार्यकर्ता ताली बजाउँदै, सिठ्ठी बजाउँदै उनलाई हौस्याउँथे । उनको भाषण अबेरसम्म रेडियो, एफएम, टेलिभिजनमा लगातार प्रसारण हुन्थ्यो । केन्द्रमा उनको चर्चा हुन्थ्यो । शिवदेवले पार्टी बचाएको छ । जुलुस जब बजार परिक्रमा गर्न शुरू गर्थ्यो, कतिबेला तोड़फोड, आगजनी हुन शुरू हुन्थ्यो, कसैलाई थाहा हुँदैन्थ्यो । बजारमा करोडौँको क्षतिको समाचारले पनि स्थान पाउँथ्यो ।

आज हुने जनमत प्रदर्शन कार्यक्रम पनि पहिलाजस्तै उनै शिवदेवले सम्बोधन गर्ने भए । पटक-पटक आउँदा एकै खालका कुरा गर्ने, काम नगर्ने, आफ्नो माग पूरा भएपछि जिल्ला नछिर्ने शिवदेवलाई कार्यकर्ताले राम्ररी चिनेका थिए । यस पटक प्रदर्शन, जुलुस शान्त वातावरणमा गर्ने कार्यकर्ताले निधो गरे । यही निर्णयअनुसार जाने प्रस्ट भए ।

आज पनि शिवदेव उसै गरी कुर्लिए । विभिन्न सपनाका तानाबाना सुनाए । आज खासै तालीको गडगडाहट सुनिएन । सिठ्ठी पनि बजेन । उनी अलि निराश देखिए । आजैको कार्यक्रमको रूपरेखाले उनको केन्द्रमा हैसियत निर्धारण हुने पनि थियो । उनमा उकुसमुकुस मौलायो । आज कार्यकर्तालाई कसले भाँडेछ ? मनमनै सोचे उनले । पक्कै फरक गुटका कार्यकर्ता जम्मा भएका होलान् ? म पनि देखाउँछु ? नियालेर फरक गुटका कार्यकर्ता झाँक्क थाले ।

जुलुस बजार परिक्रमा गर्न शुरू गर्यो । अब त केही हुन्छ कि ? उनमा आशा पलायो । अहँ ! आज केही नहोला जस्तो भो । तोडफोड, आगजनी, ढुंगा हान्ने पनि कोही देखिएनन् । उनको निधारमा पसिना चटचटी छुटेको थियो । जुलुस शान्त भाएकाले उनलाई बेचैनी भयो । सारा कार्यकर्ता सभ्य र शान्त मुद्रामा हिँडिरहेका थिए । शिवदेवले रणनीति बदले । उनी एकाएक आफ्नो गाडी नजिक गए । आफूले चुरोट सल्काउन गोजीमा राखेको सलाई झिकेर गाडीको पछाडिको सिटमा आगो झोसिदिए । गाडी दनदनी बल्न थाल्यो । कार्यकर्ता एक भई हाले ।

‘हाम्रो नेताको गाडीमा आगो झोस्ने ? विपक्षीलाई हामी त्यसै छोड्दैनौँ ?’

कार्यकर्ता उग्र भए । घरका झ्यालहरु फुटे । सयौँ गाडीमा आगजनी भयो । कयौँ प्रहरी घाइते भए । बजार रणभूमि भयो । शिवदेवले आनन्दको स्वास लिए । उनी धेरैबेरसम्म समाचारका मुख्य शीर्षक बने । भोलि नै उनलाई पार्टी केन्द्रीय कार्यालय बोलाइयो । उनले मुख्यमन्त्रीको सपथ खाएको टिभीमा कार्यकर्ताले हेरेर खुसियाली मनाए । जिन्दाबादको नारा लगाए । शिवदेव अब आफू राजाजस्तै भाएकोमा गर्वले फुलेल भए । आफ्नो योगदानको कदर गरेकोमा पार्टीलाई धन्यवाद दिए ।

टोखा न. पा. ३, काठमाडौँ

हाल : धनकुटा