‘जान्न म त खाडीमा, पसिना पोख्छु आफ्नै बारीमा’ भन्ने मूल नाराका साथ आयोजित यस वर्षको राष्ट्रव्यापी खुला निबन्ध लेखन प्रतियोगितामा उपविजेता हुँदै रु २ लाख प्राप्त गर्न सफल प्रतिस्पर्धी हुनुहुन्छ – अरुणिमा ताम्राकार ।

उद्घोषकको एक हल लामो उद्घोष गर्न नभ्याउँदै सहभागीको तरर बजेको तालीले हल नै गुञ्जायमान भयो ।
अब घोषणा गर्ने पालो प्रथम पुरस्कारको । सबै मुखामुख गर्न थाले । देशभरिबाट छानिएका ७७ वटा निबन्ध मध्ये प्रथम हुनेले नगद रु चार लाख पाउने घोषणा हुँदा पनि पहिलो हुने प्रतिस्पर्धीलाई सबैले नियालेकै थिए ।

सबैका बीचमा खासखुस चल्दैगर्दा हलमा सहभागी रामलालले भने, “राज्य स्तरबाटै यति ठूलो रकम सहितको प्रतिस्पर्धा आयोजना गरिएको त पहिलो पटक हो । साँच्चै को होला त्यो भाग्यमानी ?”

गफ जम्दै जाँदा बीचमै फेरि अर्का सहभागी हरिनारायणले जिज्ञासा प्रकट गरे, “निबन्ध चाहिं के शीर्षकमा लेख्या होलान् है ?”    यसै बिचमा उद्घोषक पुन स्टेजमा देखिए र घोषणा गरे, “प्रथम पुरस्कार प्राप्त गर्ने पुरस्कृत व्यक्तित्व हुनुहुन्छ पाल्पाका देशभक्त उपाध्याय । उहाँले मेरो पसिना मेरै देशका लागि  शीर्षकको निबन्धमा रु ४ लाख सहितको प्रथम पुरस्कार जित्न सफल हुनुभएको छ ।”

फेरि उसैगरी तरर ताली बज्यो । धेरै किसिमका क्यामेराहरू स्टेजतर्फ तेर्सिए । केहीबेरमै स्टेज चढेका देशभक्तले शिक्षा मन्त्रीको हातबाट रु ४ लाख सहितको चेक खादामाला र बधाई थापेपछि छेउमै रहेको हलुका  ब्याग उठाएर  भारी मन बनाउँदै हतारहतार अन्तर्राष्ट्रिय विमानस्थलतर्फ हानिए ।