गोदामको भित्तामा एउटा थोत्रो पोस्टर च्यातिएर आधा भाग तुर्लुङ्ग झुन्डिएको नौ दिन अघि देखिको हो । मैले यस कम्पनीमा काम गरेको दश वर्ष भैसकेको छ । यहाँ आउँदा पनि त्यो पोस्टर त्यहीं थियो । त्यसैले यो त पक्का थियो कि पोस्टर दश वर्षभन्दा बढी पुरानो हो ।
पोस्टरमा खास केही छैन । ‘धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ’ भनेर लेखिएको छ र दुई खिल्ली भाँचिएको चुरोटको फोटो,त्यत्ति छ ।
आधा भाग च्यातिएर लत्रिएको उक्त पोस्टर पूरै च्यातेर मिल्काउँछु भनेर सोचेको पनि हप्ता दिन भैसकेछ । घरमा खाना खाने बेला सम्झन्छु भोलि त जसरी नि फ्याँक्छु भनेर । भोलि फेरि बिर्सिजान्छु । साथीभाइसँग साँझ क्लबमा हुँदा पो सम्झन्छु ‘फेरि आज पनि पोस्टर फ्याँक्न बिर्सेछु’ । अफिसबाट घर फर्कंदा नयाँ वानेश्वर चोक आइपुगेपछि पो सम्झन्छु ए..त्यो पोस्टर फ्याँक्नु पर्ने थ्यो भनेर । शुक्रवार त च्यात्न भनेर पोस्टर छेउ पुगिसकेको पनि थिएँ , अचानक बोसको अर्जेन्ट कल आएर हतार हतार एयरपोर्ट जान पर्यो ।
पूरै हप्ता नाथे एउटा थोत्रो पोस्टर च्यातेर फ्याँक्न नसकेकोमा आफैसँग झिँजो लाग्न थालिसकेको थियो ।अरू स्टाफहरूसँग पनि रीस उठ्न थालेको थियो ‘तिनीहरूका चैं आँखा छैनन् ? त्यति जाबो जसले फ्याँके पनि त हुन्थ्यो ! मैले नै गर्नु पर्ने त्यति सानो काम पनि ?’
उबेला पोस्टर टाँस्नेसँग पनि रीस उठेर आयो । ‘यो टाँस्नै नपर्ने ठाउँमा किन टाँस्नु ? को मूर्खले टाँस्छ गोदामभित्र पोस्टर ?’
आइतवारको दिन थियो । ‘आज भने दश काम छाडेर भए पनि त्यो पोस्टर फ्याँक्छु फ्याँक्छु’ घरबाट निस्कँदा आफैसँग अठोट गरें । अफिस पुगेर मोटरसाइकल पार्क गरेपछि सिधै केही नसोची गोदामभित्र छिरें । त्यहाँ पुगेर हेर्छु त अर्की स्टाफ रज्जू बहिनी टूलमाथि चढेर पोस्टरलाई टेपले मेहनतसाथ टाँस्दै रहिछन् । केही बेर टाढैबाट हेरिरहें । उनले पोस्टर टाँसेर दुरुस्त बनाएपछि रुमालले मजाले पुछिन् । पोस्टर फेरि उस्तै नयाँ र गजब देखियो । म मुसुमुसु हाँस्दै आफ्नो क्यबिनतर्फ लम्किएँ ।
कफी ब्रेक भयो । रज्जू बैनीसँग भेट भयो । उनले मुसुक्क हाँस्दै मतिर हेर्दै भनिन्, ‘हेर्नू न दाइ, एक हप्ता अगाडि देखि त्यो पोस्टर टाँस्छु भनेको बिर्सेको बिर्सेकै भएँ । घर पुग्दा अरू अरू काम गर्दा चैं सम्झिन्छु, यहाँ आयो कि साह्रै व्यस्त भइन्छ, बिर्सिजान्छु । बल्ल बल्ल आज सम्झेर टाँसिदिएँ ।’
म ‘ए..ए..’ भन्दै सोचिरहें – ‘कस्तो फरक फरक सोच हुनेरहेछ मान्छेको ! म पूरै हप्ता पोस्टर च्यात्न नसकेकोमा डिस्टर्ब थिएँ । रज्जू बैनी टाँस्न नपाएकोमा ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।