त्रिचन्द्रमा भर्नाको फाराम बुझाउन बैङ्कको भौचर पनि चाहिने रहेछ । त्यहाँकै एकजना कर्मचारीले पद्मकन्या क्याम्पससँग जोडिएको छ भनेर नेपाल बैङ्कको ठेगाना बताइदिए । त्यसपछि मैले आफ्नो पाइला उतैतिर बढाएँ । रत्नपार्कको पुलमुनिबाट नाक थुन्दै अगाडि बढ्दै थिएँ, एक्कासि ठुलो पानी पर्‍यो । आज बिहान हतार हतारमा छाता कोठामै छाडेछु ।

ओत लाग्नुपर्‍यो भनेर एउटा स्टेसनरीको बाहिर उभिएँ । पसलका दाइ त एक्कासि पड्किए । पण्डित बाजेले जस्तै नबुझ्ने भाषामा केके बरबराउँदै थिए । मैले केही नबुझे पनि स्पष्ट थाहा हुन्थ्यो कि यिनले मलाई नै गाली गर्दै छन् । म केही नबोली अलि कुनातिर कोच्चिएँ । सडक एकछिनमै जलमग्न भयो । अलिअलि बतास पनि चलेको हुनाले पानीको बाछिटाले घरीघरी मेरो शरीरलाई हान्थ्यो । म भिजेको कुखुरा झैं निथ्रुक्कै भएँ । त्यसमाथि ती दाइको गाली पनि सुनिरहेको थिएँ ।

यता जाडोले शरीरै काम्दै थियो करिब २० मिनेटको प्रतीक्षा पछि बिस्तारै पानी कमकम हुँदै गइरहेको थियो । मैले सटरको बायाँतिर मिलाएर राखिएको केही साहित्यिक पुस्तकको नाम हेर्दै थिएँ । एकैछिनमा मेरो खुट्टा कुल्चिएर एउटा कुकुर पानीतिर खेल्न गयो । म झस्किएँ ।

“स्विटि ! हिलोमा नजा ! एता आइज ! तँलाई हिजो भर्खर चिसोको दबाई ल्या’र ख्वाको हैन ?” भन्दै ती दाइले मलाई आफ्नो ढुङ्गाजस्तो कुमले हानेर सडकतिर हुत्तिए । पानीमा खेल्दै गरेको त्यो हिले कुकुरलाई काखमा च्यापेर भित्र लगे । त्यसलाई गाली गर्दै सेतो टावेलले पुछ्दै थिए, म पनि सिमसिम पानीले अब खासै नभिजाउला भनेर त्यहाँबाट निस्किएर बैङ्कतिर लागेँ ।