टेबुलमा रहेका पत्रिकामा आँखा पुग्यो । शीर्षक थियो- भुटानी शरणार्थी प्रकरणका प्रमुख योजनाकार पक्राउ, अनुसन्धान निष्कर्षोन्मुख ।

चाङमा रहेका पत्रिका पल्टाउँदै गएँ । कुनैमा बालुवाटार, कुनैमा गिरीबन्धु चियाबगान त कुनैमा बाँसबारी जग्गा घोटाला छानबीनको कुरो छ, कुनैमा कोरोना कालमा स्वास्थ्य उपकरण खरिद घोटाला त कुनैमा सहकारी ठगीमा छानबिनको विषय छ । हुँदाहुँदा एउटामा त २०४६ पछि सत्तामा पुगेका सबैको सम्पत्ति छानबीन हुने कुरो पनि लेखेको रैछ ।

थप हेरेको भए त क्यान्टोमेन्टमा घोटाला, विद्युतीय उपकरण खरिदमा भ्रष्टाचारजस्ता अरू कुरा पनि देखिने थिए होलान् । यत्तिकैमा मैले सोधे – हैन, कहाँबाट आए यी पत्रिका ?

उत्तर आयो – पुराना पत्रिका हुन् क्या ! कवाडीलाई बेच्न ठिक पारेको, काम छैन अब यी पत्रिकाको !

मिति हेरकै रहेनछु । पुराना नै रहेछन् । हो त, अब यी पत्रिकाको के काम ?

केदार आचार्य