उनीहरूको घरमा एक्कासि आगलागी भयो । केही निकाल्न सकेनन् । घरमा भएका सबै सामान खरानी भए । फेसबुकमा भिडियो आयो । नगर प्रमुखदेखि वडा प्रमुख हुँदै जिल्लाका प्रमुख समेत घटनास्थलमा पुगे । सहानुभूति प्रकट गरे । त्यसो त सुन्ने, देख्ने जति धेरैले उनीहरूको अवस्थाप्रति सहानुभूति प्रकट गरे । ज्यान बाँच्यो, मानवीय क्षति भएन त्यो ठूलो कुरा भने । केही सहयोग गर्ने आश्वासन दिए । एकाएक टिन आयो । त्रिपाल आयो । लत्ताकपडा, खाद्यान्नका सामान आए । केही कामदार खटिए । बाँस काटे अस्थायी टहरा बनाइदिए । ककसले केके सके ल्याए, राहत भयो । केके ल्याए पीडितलाई बस्ने व्यवस्था बनाइदिए । समाचार छापियो ।

लगभग महिना दिनपछि वर्षाको समय आयो । असारे झरी, वरिपरि पानी जमेको खेतकै बिचमा पाल बेरेको, टिनलाई  बाँसले थिचेको छानो भएको बास बस्ने ठाउँ तयार भयो । घाम लागेको बेला टिन तातेर बस्नै नसकिने, पानी परेको बेला  भिज्ने । एक दिन हावाहुरीले टिन बारीमा छरिए त्यतिखेर सबै थोक भिज्यो । मान्छे भिज्यो, लुगाफाटो भिज्यो, केटाकेटी भिजे । मन भिज्यो । रातभर पानी पर्‍यो, हुरी चल्यो । उनीहरूले पुरानो घर सम्झिरहे । दुःख लुकाउने त्यहीँ ठाउँ सम्झिए । आफ्नो भाग्यलाई  धिक्कारे ।

बिहान उज्यालो भएपछि भाडापसले बिल बोकेर आए । कपडा पसले बिल बोकेर आए । किराना पसले आए बिल बोकेर । टिन पसले टिनको पैसा माग्न आयो । टिन बान्ने मानिस ज्याला भन्दै मुस्कुराए । कोही चामलको, कोही दालको, कोही पालको, कोही डोरीको हिसाब सुनाउँदै आए । तिनीहरूले उनीहरूलाई हेरेँ, उनीहरूले डढेको आँगन हेरेँ । तिनीहरूले सामानहरू सम्झिए, उनीहरूले राहत सम्झिए ।