बलराम पाण्डे

सानाठूला रुख, लहरा, झाडी, बुट्यानले दिएको हरियालीमा खुशी थिएँ । मेरा चारैतिरका भिराला भाग बुट्यान र झाडीले धानेकाे थियो ।

मलाई सल्लाका रुखले ओत दिएझैँ लाग्थ्यो । नजिकै टल्किने सेताम्य हिउँका चुचुरा, कलकल बहने बेसीमा नदी । चाैरी चरनकाे फाँट । एउटा काेखमा निलाे दह भएको म सुन्दर थुम्काे ।

नदीकाे स्वच्छ पानीभित्र माछाकाे नृत्य । दहमा देखिने हिमाली प्रतिबिम्ब ।

घुम्ने मानवकाे कमी कहिल्यै महसुस गरिनँ । मेराे ५० वर्गमिटरमा बसेर कयौंले पहिलो मायाको स्पर्श गरे । कयौंले विछाेडकाे पीडामा ममाथि आँशु बगाए ।

प्राकृतिप्रेमिकाे आलिङ्गनमा हरदम बाँधिइरहे । कयौं यार्चाजस्ता अमूल्य जडिबुटीले भरिभराउ थिए ।

एकाएक एक भागमा डाेजर चल्यो । काेखमा बाँणकाे तिरले हानेझैँ भयो । छातीमा वज्रपात पर्‍याे । हृदयघात भएझैँ नदीमा बजारिए ।

 

नारायणगढ