“बाबु कता छौ ? लौ न मलाई गाह्रो पो भयो त एक पटक काठमाडौँ आएर देखाउनु पर्‍यो ।” घरबाट बुबाको फोन आयो ।

“घर जानु पर्‍यो, बिरामी बुबा ल्याउनु पर्‍यो, डाक्टरकोमा धाउनु पर्‍यो ….” उसले मनमनै  हिसाब निकाल्यो ।

“दाइले हेल्थपोस्ट लानु भएको छैन र ?” उसले बुबालाई सोध्यो ।

“फुर्सद मिलाएर जाउँला भन्छ । आफूलाई रोगले अत्त्याएको छ ।” बुबाले भने ।

“फुर्सद त मलाई पनि छैन बुबा । ल अब अर्को महिना आउँला है ?” उसले फोन राख्यो ।

तीन दिनपछि घरमा गएर, “कतिबेला  हो ?”

उसले रुन्चे मुख लगाउँदै सँगैकी बहिनीलाई सोध्यो ।

“राती १ बजे ।” सुँक्कसुँक्क गर्दै बहिनीले भनी ।

“हिजो दिउँसै खबर गरिदिनु पर्दैन मलाई ? मैले बुबाको अन्तिम श्वास भेटाउन पनि पाइन ।” उसको रुवाइ अरू भन्दा चर्को सुनियो ।